नवौँ राष्ट्रिय खेलकुद: हालसम्म विभागीय टोलीकै वर्चश्व, ६१ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

नवौँ राष्ट्रिय खेलकुद: हालसम्म विभागीय टोलीकै वर्चश्व, ६१ स्वर्णसहित आर्मी शीर्ष स्थानमा

पोखरा: गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब ६१ स्वर्ण जित्दै पदक तालिकाको शीर्ष स्थानमा रहेको छ। हालसम्म १३९ स्वर्ण पदकको टुङ्गो लाग्दा आर्मीले मात्रै ६१ स्वर्ण जितेको हो।

यस्तै आर्मीले ३९ रजत र २८ कास्य पदक पनि हात पारेको छ। आर्मीले कुल १२८ पदक प्राप्त गरेको छ।

यस्तै अर्को विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफ क्लब २३ स्वर्ण, १७ रजत र १५ कास्यका साथ कुल ६५ पदक प्राप्त गर्दै पदक तालिकाको दोस्रो स्थानमा छ। नेपाल प्रहरीको पुलिस क्लब १५ स्वर्ण, २५ रजत र ३३ कास्यसहित कुल ७४ पदक प्राप्त गर्दै तेस्रो स्थानमा छ।

बागमती प्रदेश १४ स्वर्ण, २२ रजत र २३ कास्यसहित कुल ५९ पदक प्राप्त गर्दै चौथो स्थानमा छ। गण्डकी प्रदेश १० स्वर्ण, आठ रजत र २० कास्यसहित पाँचौँ स्थानमा छ। यस्तै छैटौँ स्थानमा गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली छ। यसले ६ स्वर्ण, ६ रजत र चार कास्यसहित कुल १६ पदक हासिल गरेको छ।

प्रदेश नं १ ले तीन स्वर्ण, आठ रजत र २१ कास्यसहित कुल ३२ पदक पाउँदै सातौँ स्थानमा छ। मधेश प्रदेश दुई स्वर्ण, तीन रजत र सात कास्यसहित कुल १२ पदक प्राप्त गर्दै आठौँ स्थानमा छ।

सुदूरपश्चिम प्रदेश नवौँ स्थानमा छ। सुदूरपश्चिमले दुई स्वर्ण, एक रजत र ११ कास्यसहित कुल १४ पदक हात पारेको छ।

लुम्बिनी प्रदेश १०औँ र कर्णाली प्रदेश पदक तालिकाको ११औँ स्थानमा छन्। लुम्बिनीले एक स्वर्ण, नौ रजत र १२ कास्यसहित कुल २२ पदक प्राप्त गर्दा कर्णाली प्रदेशले एक स्वर्ण, एक रजत र दुई कास्यसहित कुल चार पदक प्राप्त गरेको छ।

कात्तिक १, २०७९ मंगलबार ०८:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।