विद्राेही उम्मेदवारलाई उम्मेदवारी फिर्ता लिन कात्तिक ४ गतेसम्मकाे समय थप

काठमाडौं : नेपाली कांग्रेसले विद्रोही उम्मेदवारलाई कात्तिक ४ गतेसम्म उम्मेदवारी निष्क्रिय पार्न समय थपेकाे छ।
यसअघि असोज ३० सम्म उम्मेदवारी निष्क्रिय बनाउन समयसीमा दिएकाे कांग्रेसले त्यसलाई कात्तिक ४ गतेसम्म लम्ब्याएको छ।
कांग्रेसको केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार एक विज्ञप्ति जारी गरी कांग्रेस र गठबन्धनका आधिकारिक उम्मेदवारहरूविरुद्धको उम्मेदवारी कात्तिक ४ गतेभित्र निष्क्रिय गरेमा पार्टीले गरेको कारबाही फुकुवा गर्ने जनाएका हुन्।
पार्टी सचिव पौडेलले जारी गरेको विज्ञप्तिमा लेखिएकाे छ, ‘तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका त्यस्ता विद्रोही उम्मेदवारले पार्टीका आधिकारिक उम्मेदवार एवं गठबन्धन दलका आधिकारिक उम्मेदवारलाई विजयी बनाउन पूर्णरुपमा सक्रिय रहने प्रतिवद्धतासहित २०७९ कात्तिक ४ गतेभित्र सार्वजनिक रूपमा वक्तव्य प्रकाशित गरी आफ्नो उम्मेदवारी निष्क्रिय गराएमा त्यस्ता विद्रोही उम्मेदवार तथा तिनका प्रस्तावक र समर्थक उपरको कारबाही पार्टी केन्द्रले आवश्यक प्रक्रिया पुर्याई फुकुवा गर्ने व्यहोरा सम्बन्धित सबैलाई निर्देशानुसार जानकारी गराइन्छ।’
असोज ३१, २०७९ सोमबार २०:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।