'घन्टी' चिन्ह प्रयोग गरी स्वतन्त्र उम्मेदवार भनेर प्रचार गर्ने पार्टीका उम्मेदवारलाई स्पष्टिकरण

'घन्टी' चिन्ह प्रयोग गरी स्वतन्त्र उम्मेदवार भनेर  प्रचार गर्ने पार्टीका उम्मेदवारलाई स्पष्टिकरण

काठमाडौं : निर्वाचन आयोगले घण्टी चिन्ह प्रयोग गरी स्वतन्त्र उम्मेदवार भएको प्रचारप्रसार गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई स्पष्टिकरण सोधेको छ।

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका राष्ट्रिय स्वतत्र पार्टीका प्रतिनिधि सभा सदस्यका काठमाडौं क्षेत्र नम्बर ६ का उम्मेदवार शिशिर खनालले आफूलाई घन्टी निर्वाचन चिन्हबाट स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको विषयमा २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न पत्राचार गरेको आयोगले जनाएको छ।

घन्टी निर्वाचन चिन्ह राष्ट्रिय स्वतत्र पार्टीका उम्मेदवार खनालले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेको कार्यबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित गर्ने र आम मतदाता समेतलाई भ्रमित गर्ने गरी कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन समेत भएको पाइएकाले स्पष्टीकरण सोधिएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

आयोगले खनाललाई सोधिएको स्पष्टिकरणमा भनिएको छ, ‘आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह घन्टी स्वतन्त्र अभियानको रहेको भनी प्रचारप्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छरु तपाईंको दल राष्ट्रिय स्वतन्त्र पार्टीको उम्मेदवार भई गोलाकारभित्र घन्टी निर्वाचन चिन्ह अन्तर्गत निर्वाचन लड्नुभएको हुँदा तपाईंले आफू स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गरेको कार्यले तपाईं दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा ठाडो भ्रम सिर्जना गरेको देखिएकाले तपाईंले स्वतन्त्र उम्मदेवारको आवरण प्रयोग गरी निर्वाचनको सम्मुखमा झुठपूर्ण तथा भ्रमपूर्ण कार्य गरेको होइन भनी पुष्ट्याईँ गर्ने आधार र कारण के छ ? तपाईंबाट उक्त कार्य भएको अवस्थामा निर्वाचन आचारसंहिताको उलघंन हुने भएकाले तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम जरिबाना किन गर्नु नपर्ने होरु पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोग नेपालमा उपस्थित भई वा आफ्नो प्रतिनिधिमार्फत स्पष्टीकरण पेश गर्नुहोला।’

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ ।

असोज ३१, २०७९ सोमबार १८:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।