नवौं राष्ट्रिय खेलकुद : भारत्तोलनमा पुलिसलाई चौथो स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत भएको भारत्तोलन खेलमा नेपाल पुलिस क्लबले चौथो स्वर्ण जितेको छ।
सोमबार भएको दोस्रो दिनको पहिलो खेलमा महिला ५५ केजी तौल समूहतर्फ पुलिसकी टीकामाया गुरुङले स्वर्ण जितेकी हुन्। यसअघि आइतबारको खेलमा पुलिसले ३ स्वर्ण र नेपाल आर्मीले १ स्वर्ण जितेका थिए।
टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजीभार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारत्तोलन संघका अध्यक्ष राम कृष्ण श्रेष्ठले जानकारी दिए।
यस्तै, नेपाल आर्मीकी प्रभा थारुले न्याचमा ५८ र क्लीन एण्ड जर्कमा ७१ गरी कुल १२९ केजी भार उठाउँदै रजत जितिन् भने लुम्बिनी प्रदेशकी कृष्ण कला बिष्टले कास्य जितिन्।
उनले स्न्याचतर्फ ५६ र क्लीन एण्ड जर्कमा ७२ गरी कुल १२८ केजी तौल उठाउन सकिन्। उनी प्रभाको तुलनामा १ केजी मात्र भार कम उठाउँदा कास्यमा सीमित भएकी हुन्। प्रतियोगितामा १२ जना खेलाडी सहभागी थिए।
उद्घाटनको दिन पुलिसका मुई लामाले भारत्तोलनमा राष्ट्रिय रेकर्ड कायम गरे। उनले ६१ केजी तौल समूहमा भएको प्रतिस्पर्धामा स्न्याचमा ९६ केजी भार बहन गरी आर्मीका तुला राम महताको रेकर्ड तोडे। लामाले क्लीन एण्ड जर्कमा ११६ सहित कुल २१२ तौल उठाउँदै स्वर्ण जिते।
रजत जितेका नेपाल आर्मीका राजु चौधरीले क्लीन एण्ड जर्कमा आफ्नै रेकर्ड तोडे। उनको नाममा १२० केजी रहेकोमा आइतबारको प्रतिस्पर्धामा १२१ केजीतौल भार बहन गर्दै रेकर्ड ब्रेक गरे। उनले स्न्याचतर्फ ८७ केजी सहित कुल २०८ भार बहन गरेका थिए।
यसअघि, महिला ४९ केजी तौल समूहमा नेपाल पुलिसकी संगीता राई, पुरुष ५५ केजीतौल समूहमा आर्मीका तुला राम महतो र महिला ४५ केजीतौल समूहमा पुलिसकी हिरा मोती थारुले स्वर्ण जितिसकेका छन्।
असोज ३१, २०७९ सोमबार १५:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।