प्रभावमा नपरी मतदान गर्न जवाफदेहीता निगरानी समितिको आग्रह

काठमाडौं: जवाफदेहीता निगरानी समितिले आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा मुलुकको सफल लोकतान्त्रिक भविष्य, न्याय तथा मानव अधिकारको सुनिश्चितताका लागि कुनै पनि दबाब वा प्रभावमा नपरी मतदान गर्न आग्रह गरेको छ।समितिका संयोजक चरण प्रसाईंले आज एक विज्ञप्ति जारी गर्दै भ्रष्टाचारी तथा आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई भोट नहाल्न आग्रह गरेका छन्।
“हरेक पाँच वर्षमा एकपटक प्राप्त यस अवसरलाई विवेकको प्रयोग गरी भ्रष्टाचारी, आपराधिक गतिविधिमा संलग्न भएका एवं न्याय तथा मानव अधिकार विरोधी उम्मेदवारलाई निरुत्साहित गर्नुपर्छ”, समितिले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “स्वच्छ छवि भएका योग्य, इमान्दार तथा न्याय र मानव अधिकारप्रति प्रतिबद्ध उम्मेदवारलाई जनप्रतिनिधि चुन्न निगरानी समिति आम मतदातालाई आग्रह गर्दछ।”
समितिले स्वतन्त्र, निष्पक्ष तथा भयमुक्त वातावरणमा मतदानद्वारा स्वच्छ छवि भएका योग्य, इमान्दार तथा लगनशील प्रतिनिधि चुन्ने अवसर प्राप्त गर्नु लोकतन्त्र तथा सुशासनको पूर्वशर्त भएको जनाएको छ। मुलुकको सुदृढ एवं दिगो लोकतान्त्रिक भविष्य स्थापित गर्ने यो एक स्वर्णीम मौका पनि भएको विज्ञप्तिमा उल्लेख छ।
असोज ३१, २०७९ सोमबार १३:३८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।