नवौं राष्ट्रिय खेलकुद: आईटीएफमा आर्मीलाई सात स्वर्ण

नवौं राष्ट्रिय खेलकुद: आईटीएफमा आर्मीलाई सात स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत बागलुङमा भइरहेको आईटीएफ तेक्वान्दो प्रतियोगितामा विभागीय टिम नेपाल आर्मीले सात स्वर्ण पदकसहित अग्रस्थान हासिल गरेको छ। हालसम्मको खेलमा बागमती प्रदेशले तीन र गण्डकीले एक स्वर्ण जितेको छ।

आर्मीले एकल प्याट्रनमा ६ र टिम प्याट्रनमा एक स्वर्ण जित्दै प्रतियोगितामा आफ्नो वर्चश्व कायम गरेको हो। जारी खेलको पुरुष टिम प्याट्रननमा नेपाल आर्मी र महिला टिम प्याट्रनमा बागमती प्रदेशले स्वर्ण हात पारेको हो। 

पुरुष टिम प्याट्रनमा गण्डकी प्रदेश र महिलातर्फ नेपाल आर्मीले रजत पदकमा चित्त बुझाएको छ। महिलातर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीकी रीना धिमालले गण्डकी प्रदेशकी सुश्मिता थापालाई पराजित गर्दै स्वर्ण पदक हात पारिन्। गण्डकीकी थापा रजत पदकमा सीमित बनिन्।

‘ब्ल्याक बेल्ट’ तेस्रो डानमा बागमतीकी रुबिका खड्काले स्वर्ण र आर्मीकी निष्मा बस्यालले रजत पदक जितेकी छन्। ‘ब्ल्याक बेल्ट’ पहिलो डानमा बागमती प्रदेशका सचिना सुनुवारले स्वर्ण र नेपाल आर्मीका हिमा खड्काले रजत पदक हासिल गरेकी हुन्।

पुरुषतर्फ ‘ब्ल्याक बेल्ट’ दोस्रो डानमा आर्मीका पूर्णबहादुर मगरले स्वर्ण पदक हासिल गरे। गण्डकी प्रदेशका राजन रेग्मीले रजत पदकमा चित्त बुझाउन बाध्य भए। ब्ल्याक बेल्ट तेस्रो डानमा नेपाल आर्मीका सुमन मस्राङ्गी मगरले स्वर्ण र लुम्बिनी प्रदेशका वीरेन्द्र बुढामगरले रजत पदक जितेका छन्।

प्रतियोगिताको पहिलो दिन शनिबार भएका खेलमा आर्मीले तीन र गण्डकी प्रदेशले एक स्वर्ण जितेको थियो। ‘ब्ल्यू बेल्ट’तर्फ पुरुष एकल प्याट्रनमा आर्मीका धनसिंह परियारले स्वर्ण र लुम्बिनीका सफल परियारले रजत पदक हात पारे।

‘रेड बेल्ट’मा गण्डकी प्रदेशका भीम गाहाले स्वर्ण पदक जित्दा र लुम्बिनीका सन्देश सुनार रजत पदकमा सीमित बने।

‘ब्ल्याक बेल्ट’ पहिलो डानमा आर्मीका भीमबहादुर तामाङले स्वर्ण र गण्डकीका प्रविण बुढाले रजत पदक हात पारे। ‘ब्ल्यू बेल्ट’ महिलातर्फ गण्डकीकी मोनिका कुँवरलाई पराजित गर्दै आर्मीकी सुस्मिता श्रेष्ठले स्वर्ण पदक हासिल गरिन् भने कुँवरले रजत जितिन्।

अहिलेसम्म गण्डकी प्रदेशले एकल प्याट्रनमा एउटा मात्र स्वर्ण जित्न सफल भएको छ। बागमतीले भने एकलमा दुई र टिम प्याटर्नमा दुई स्वर्ण हात पारेको छ।

स्पाइरिङतर्फको पहिलो खेल आइतबार नै सुरु भए पनि समय नपुगेका कारण फाइनल खेलाउन नसकिएको नेपाल आईटीएफका महासचिव अञ्जु रावतले जानकारी दिइन्।

फाइनल खेलमा गण्डकी प्रदेशका खगेन्द्रबहादुर घर्ती र कर्णाली प्रदेशका मिलन धामीबीच प्रतिस्पर्धा हुने नेपाल आईटीएफका महासचिव अञ्जु रावतले जानकारी दिइन्। शनिबारदेखि सुरु भएको आईटीएफमा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन  र टिम प्याट्रनका खेल भइरहेका छन्।

प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन्। आईटीएफमा ४५ स्वर्ण, ४५ रजत र ३० कास्य पदकका लागि खेलाडीहरू प्रतिस्पर्धामा छन्।

असोज ३१, २०७९ सोमबार ११:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।