१५ लाख अमेरिकी डलर खर्चेर पोखराको यातायात प्रणालीलाई प्रविधिमैत्री बनाउन कोरियाले सहयोग गर्ने

१५ लाख अमेरिकी डलर खर्चेर पोखराको यातायात प्रणालीलाई प्रविधिमैत्री बनाउन कोरियाले सहयोग गर्ने

पोखरा: पोखराको हरित यातायात प्रणाली विकास गर्न दक्षिण कोरियाले सहयोग गर्ने भएको छ। पोखरा महानगरपालिकको समन्वयमा आएका कोरियाली परियोजनाका विज्ञहरूको टोलीले पोखराको समग्र यातायात प्रणालीका बारेमा आवश्यक अध्ययन गरेर पहिलो चरणमा १५ लाख अमेरिकी डलर खर्चेर यातायात प्राणलीलाई प्रविधिमैत्री बनाउन पूर्वाधार निर्माण गर्ने सहमति भएको छ।

पाँच दिनसम्म पोखरामा रहेको टोली पोखराको सार्वजनिक यातायात र यसको रुट तथा पूर्वाधारका विषयमा स्थलगत अध्ययन समेत गरिसकेको छ। टोलीका प्रमुख रेलमार्ग अनुसन्धान संस्थान कोरियाका परियोजना प्रबन्धक जियोन ह्युन किमका अनुसार परियोजना अन्तरगत पोखराका ८४ वटा बस रुटहरूमा एक हजार २८६ स्थानमा बस स्टप निर्माण गरिनेछ।

यस्तै तीन स्थानमा बस टर्मिनल निर्माण गरिनेछ।

यसका लागि पहिलो चरणमा १५ लाख डलर खर्च हुनेछ। यसको आधा रकम बस स्टप र बसहरूमा मेसिन जडान गर्दा खर्च हुने किमले बताए। पोखराको पृथ्वी चोकलाई थप विस्तार समेत गरिने छ।

तीन चरणमा गरी सम्पन्न गरिने यस परियोजनाको पहिलो चरणमा २०२५ सम्म शहरी यातायात व्यवस्थापनका लागि प्रारम्भिक चरणको काम सकिने छ। यस्तै दोस्रो चरण सन् २०३० सम्म हरित यातायात प्रणालीको विकास गरिने छ भने, तेस्रो चरण सन् २०३५ सम्म दीगो हरित यातायात प्रणालीको विकास गरिने छ।

विश्वमा भएको उत्कृष्ट शहरी यातायात व्यवस्थापनको नमूना पोखरामा हुने किमले विश्वास दिलाए। परियोजनाले हाल नेपालमा रहेका सवारीहरूको अवस्था र कोरियामा भइरहेको यातायात व्यवस्थापनको अनुभवलाई समेत प्रयोग गर्नेछ। टोलीका अनुसार परियोजनाको अन्त्यमा पोखराको शहरी यातायात व्यवस्थापन प्रविधिमैत्री र स्मार्ट हुनेछ।

पोखरामा चल्ने सार्वजनिक यातायातको सेवाका बारे हरेक नागरिकहरूले डिजिटल माध्यमबाट जानकारी पाउने छन्। अहिले जस्तो कुनै पनि स्थानमा लामो समयसम्म बस कुर्नुपर्ने छैन।

चालकहरूले समेत जथाभाबी यात्रु चढाउन र ओराल्न पाउने छैनन्। क्याम्पीङ्चोकदेखि बगर (बस स्टप १९), निर निवासदेखि शान्तिनगर चोक (बस स्टप ११) र नुवार चोकदेखि महिमा किराना (बस स्टप १८) सम्म गरी तीन वटा मुख्य बस चल्ने रुटहरू हुनेछन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यस परियोजना मार्फत पोखरामा वातावरणमैत्री यातायात प्रणालीको विकासपछि बस चढ्ने यात्रुहरूले सहजरूपमा  सार्वजनिक यातायातका बारेमा जानकारी पाउने र कार्बन उत्सर्जनमा न्यूनीकरण गर्न सहयोग पुग्ने बताए।

उनले पोखरामा बढ्दो शहरीकरण र ट्राफिक चापलाई व्यवस्थित गर्न पनि यो परियोजना प्रभावकारी हुने दावी गरे। यस परियोजनाले पोखरामा समावेशी, दीगो, वातावरणमैत्री र प्रभावकारी यातायात प्रणालीको विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ।

असोज ३१, २०७९ सोमबार १०:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।