नेपालमा शहरी क्षेत्रमा बसोबास गर्नेको जनसङ्ख्या ६६.०८ प्रतिशत

काठमाडौं: नेपालमा शहरी क्षेत्रमा बस्नेहरूको जनसङ्ख्या बढेको छ। जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्कअनुसार शहरी क्षेत्रमा बसोबास गर्ने जनसङ्ख्या ६६.०८ प्रतिशत पुगेको छ।
यसअघि २०६८ को जनगणनामा शहरी क्षेत्रको जनसङ्ख्या ६३.१९ प्रतिशत थियो। त्यसबेला ग्रामीण भेगको जनसङ्ख्या ३६.८१ प्रतिशत थियो।
संयुक्त राष्ट्र सङ्घीय मानव बसोबास कार्यक्रम (यूएन ह्याबिट्याट) ले यसै महिना प्रकाशित गरेको विश्व शहरी प्रतिवेदन २०२२ मा उल्लेख भएअनुसार शहरीकरणको प्रक्रिया विकसित राष्ट्रमा धेरै देखिएको छ। ती देशमा कुल जनसङ्ख्याको ७९ प्रतिशत मानिस शहरी क्षेत्रमा बस्दछन्।
यो दरले निरन्तरता पाए विकसित देशमा सन् २०५० सम्म शहरी क्षेत्रको जनसङ्ख्या ८७ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ। सन् २०२० देखि २०२५ सम्म विकसित देशको जनसङ्ख्या वृद्धिदर ०.४६ प्रतिशत रहने अनुमान पनि प्रतिवेदनमा गरिएको छ।
अक्टोबर महिनाको पहिलो सोमबार मनाइने विश्व बसोबास दिवसका अवसरमा कार्यक्रमले यस्तो प्रतिवेदन सार्वजनिक गर्ने गरेको हो।
अक्टोबर महिनाको पहिलो सोमबार बडा दशैंको महाअष्टमी परेकाले आज तेस्रो सोमबार ‘समावेशी शहरबस्तीको आवश्यकता: सबैको साझा प्रतिबद्धता’ भन्ने नाराका साथ नेपालमा विश्व बसोबास दिवस २०७९ विविध कार्यक्रम आयोजना गरी मनाउन लागिएको पनि मन्त्रालयले जनाएको छ।
कार्यक्रममा व्यवस्थित शहरी विकास, स्मार्ट सिटीलगायत विषयमा कार्यपत्र प्रस्तुत गरी त्यसमाथि टिप्पणी हुने जनाइएको छ। कार्यक्रममा विभाग, काठमाडौं उपत्यका विकास प्राधिकरण, इञ्जिनियरिङ अध्ययन संस्थान, काठमााडौं र ललितपुर महानगरपालिकाका तर्फबाट कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको जनाइएको छ।
यस अवसरमा आवास कम्पनी लिमिटेड, युएन ह्याबिट्याट, नगर विकास कोष, विभिन्न नगरपालिकाले समेत विविध कार्यक्रम आयोजना गर्न लागेको शहरी विकास तथा भवन निर्मािण विभागले जनाएको छ। दीगो र वतावरणमैत्री शहरी विकासमा जोड दिँँदै विश्व बसोबास दिवसका कार्यक्रम गरिने भएको छ।
असोज ३१, २०७९ सोमबार ०७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।