‘लौरो’लाई स्वतन्त्र उम्मेदवारको चिन्ह भन्दै प्रचार गर्ने हाम्राे नेपाल पार्टीका नौ उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण

‘लौरो’लाई स्वतन्त्र उम्मेदवारको चिन्ह भन्दै प्रचार गर्ने हाम्राे नेपाल पार्टीका नौ उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण

काठमाडौं : निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मनोनयनपत्र दर्ता गराएका हाम्रो नेपाली पार्टीका विभिन्न उम्मेदवारहरूले आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिन्हबाट प्रचारप्रसार गरेका ९ जनालाई स्पष्टिकरण सोधेको छ।

दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी प्रचारप्रसार गरेका उम्मेदवारलाई २४ घन्टाभित्र स्पष्टिकरण पेश गर्न पत्राचार गरिएको निर्वाचन आयोगले जनाएको छ।

स्पष्टीकरण सोधिएकामा प्रत्यक्षतर्फ काठमाडौ क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार मधुसुदन पाठक, प्रतिनिधिसभा सदस्यका सिराहा क्षेत्र नं. २ का उम्मेदवार शिवशंकर यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (क) का उम्मेदवार राजलाल यादव, प्रदेश सभाका सिरहा क्षेत्र नं. २ (ख)का उम्मेदवार यागेशकुमार सिंह, काठमाडौं क्षेत्र नं २ (क) का प्रदेशसभा सदस्यका उम्मेदवार राजकुमार तिमिल्सिना, सर्लाही क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार वीरवंश बैठा, सुनसरी क्षेत्र नं. १ (क) प्रदेश सभा सदस्य उम्मेदवार विजय कालिकोटे, प्रतिनिधिसभा सदस्यका रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार प्रख्यात बञ्जाडे र नुवाकोट क्षेत्र नं. १ (ख) का प्रदेशसभा सदस्यका उम्मेदवार दिपेश ढुंगाना रहेका छन्।

ती उम्मेदवारहरूलाई सोधिएको स्पष्टिकरणमा भनिएको छ,  ‘आफ्नो दलीय आवद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिन्ह लौरो स्वतन्त्र अभियान रहेको भनि प्रचार प्रसार गर्ने कार्यले निर्वाचन आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ?, तपाईंको दल हाम्रो नेपाली पार्टीलाई लौरा निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारको भनी प्रचारप्रसार गर्ने कार्यले दलको उम्मेदवार हो वा स्वतन्त्र उम्मेदवार हो भन्ने बारेमा भ्रम सिर्जना भएको भनी यसपूर्व आयोगबाट पत्राचार समेत भैसकेको सन्दर्भमा तपाईं उक्त दलको उम्मेदवारबाट आयोगको निर्देशन विपरीत पुनः सोही कार्य दोहोरिएबाट तपाईंलाई निर्वाचन आचारसंहिताको उल्लङ्घनमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) बमोजिम एक लाख रूपैयाँसम्म जरिबाना किन गर्नु नपर्ने हो?, पत्र प्राप्त भएको २४ घण्टाभित्र तपाईं उम्मेदवार रहेको क्षेत्रको निर्वाचन अधिकृतको कार्यालय वा निर्वाचन आयोग नेपालमा स्वयम उपस्थित भै लिखित स्पष्टीकरण पेश गर्नुहोला। अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा निर्णयानुसार अनुरोध छ।’

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ९ को उपदफा (४) बमोजिम दर्ता भएको दलको नाम, झण्डा र चिन्ह अरु कसैले प्रयोग गर्न नपाउने गरी संरक्षण गरिने व्यवस्था रहेको छ।

दलले कुनै स्वतन्त्र उम्मेदवारलाई लौरो चिन्हको नाममा प्रचारप्रसार गर्न दिन सक्दैन, न त कुनै स्वतन्त्र उम्मेदवारले आफ्नो निर्वाचन चिन्ह रहेको भनी प्रचारप्रसार गर्न पाउँछ। लौरो निर्वाचन चिन्ह स्वतन्त्र उम्मेदवारले परिपूरक चिन्ह भनी प्रचारप्रसार गर्न पनि मिल्दैन।

लौरौ चिन्ह भएको हाम्रो नेपाली पार्टीबाट उम्मेदवार भएका व्यक्तिले कानुनी रूपमा लौरो निर्वाचन चिन्हमार्फत आफ्नो मत माग्न सक्दछन् तर आफूहरू स्वतन्त्र अभियानको अङ्ग भएको वा देशभरका स्वतन्त्रहरू लौरो निर्वाचन चिन्हको छातामा रहने भनी प्रचारप्रसार गर्न नपाउने आयोगले जनाएको छ।

असोज ३०, २०७९ आइतबार २०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।