काठमाडौं-२ का कांग्रेस मतदाता फकाउँदै प्रचण्डले भने' म ओनसरीलाई विकासे मन्त्री बनाइदिन्छु'

काठमाडौं-२ का कांग्रेस मतदाता फकाउँदै प्रचण्डले भने' म ओनसरीलाई विकासे मन्त्री बनाइदिन्छु'

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ क्षेत्र नम्बर २ का मतदातालाई ओनसरी घर्तीलाई मन्त्री बनाउने आश्वासन दिएका छन्।

पार्टीको कमजोर जनाधार रहे पनि गठबन्धन दलको बलमा चुनाव जित्ने आसमा माओवादीले सो क्षेत्रमा सम्बन्धै नभएकी घर्तीलाई प्रतिनिधि सभातर्फ सांसद उम्मेदवार बनाएको छ।

सो क्षेत्रका गठबन्धनका मतदाता फकाउन आइतबार कांग्रेस सभापति शेरबहादुर देउवा, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल अनि माओवादी अध्यक्ष प्रचण्ड सहभागी भएका थिए।

गत निर्वाचनमा सो क्षेत्रमा नेपालले जितेका थिए। पहिलो संविधान सभा निर्वाचनमा माओवादीका झक्कु सुवेदीले नेपाललाई हराएका थिए। त्यसयता कांग्रेसका स्थानीय नेताले जित्दै आएका थिए।

आइतबारको कार्यक्रममा देउवाले कुनै पार्टी विशेष भन्दा पनि ओनसरी देशका लागि काम गर्ने नेतृ भएको भन्दै आफ्ना दलका मतदाताको भोट फकाएका थिए।

माधव नेपालले उम्मेदवार केन्द्रित भन्दा पनि गठबन्धनको पक्षमा मत माग्दै वर्तमान प्रधानमन्त्री मात्रै नभई भावी प्रधानमन्त्री समेत यही कार्यक्रममा छन् भनेका थिए।

प्रचण्ड भने उम्मेदवार केन्द्रित भएर मत माग्न सक्रिय भए। उनले क्षेत्र नम्बर २ का मतदाताले ओनसरीलाई जितेर पठाए आफूले विकासे मन्त्रालयको मन्त्री बनेर पठाउने दाबी गरेका थिए।

यस अगाडिको निर्वाचनमा रुखमा मतदान गर्दै आएकाले आफ्नो पार्टीको चिन्हमा मत हाल्न अप्ठ्यारो मानेको सम्झँदै उनले एक अर्का पार्टीको चुनाव चिह्नमा मतदान गर्न अप्ठेरो नमान्न आग्रह गरे।

२०४६ सालको आन्दोलनदेखि नै कांग्रेस र कम्युनिस्ट मिलेर आन्दोलन गरेको र त्यतिबेलैदेखि हँसिया हथौडा र रुख एउटैजस्तो भएको उनको दाबी थियो।

शान्ति सम्झौतामा नेपाली कांग्रेसका तत्कालीन सभापति गिरिजाप्रसाद कोइराला र तत्कालीन विद्रोही माओवादीका तर्फबाट आफूले हस्ताक्षर गरेकाले त्यो सम्झौता आफूले रुखमा र गिरिजाबाबुले हँसिया हथौडामा छाप लाए बराबर भएको भन्दै कांग्रेस मतदातालाई फकाउने प्रयास गरेका थिए।

असोज ३०, २०७९ आइतबार १९:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।