टी–ट्वेन्टी विश्वकप : नेदरल्याण्ड्सद्वारा युएई तीन विकेटले पराजित

टी–ट्वेन्टी विश्वकप : नेदरल्याण्ड्सद्वारा युएई तीन विकेटले पराजित

काठमाडौं : अस्ट्रेलियामा जारी आईसीसी टी–ट्वेन्टी विश्वकपको दोस्रो खेलमा नेदरल्याण्ड्सले युएईलाई ३ विकेटले पराजित गरेको छ।

युएईले दिएको ११२ रनको विजयीलक्ष्य पछ्याएको नेदरल्याण्ड्सले १ बल बाँकी छँदा ७ विकेट गुमाएर लक्ष्य भेट्टाएको हो। उसको जितमा म्याक्स ओडोबले २३, कोलिन एकरमेनले १७, स्कट एडवार्डले १६, ट्रीम प्रिङ्गेलले १५, बस दि लीडेले १४ तथा विक्रमजित सिंहले १० रन बनाए।

बलिङमा युएईका जुनैद सिद्दिकीले ३ तथा बसिल हमीद, आयान अफ्जल खान, कार्तिक मेइयप्पन र जहूर खानले समान एक–एक विकेट लिए।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको युएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर १११ रन बनायो। उसका लागि मोहम्मद वसीमले ४१, भ्रिदित्य अरविन्दले १८, कासिफ दौडले १५ तथा चिराज सुरीले १२ रन बनाए।

बलिङतर्फ नेदरल्याण्ड्सका बस दी लिडेले ३, फ्रेड क्लासेनले २ तथा टिम प्रिङ्गल र रोइलफ भान देर मेर्वीले समान १–१ विकेट लिए।

जितसँगै समूह ‘ए’मा रहेको नेदरल्याण्ड्सले दुई अंकले जोडेको छ।

यसअघि आजै भएको पहिलो खेलमा नामिबियाले सन् २०१४ को विश्वकप तथा सन् २०२२ को एसिया कप विजेता श्रीलंकालाई ५५ रनले पराजित गर्यो। समूह ‘ए’ मै रहेको नामिबियाले पनि दुई अंक जोडेको छ।

असोज ३०, २०७९ आइतबार १७:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।