किष्ट अस्पताल फर्काइयो सत्यमोहनको पार्थिव शरीर, अध्ययनका लागि राखिने

काठमाडौं : वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीको पार्थिव शरीरलाई पुनः किष्ट मेडिकल कलेज तथा शिक्षण अस्पताल लगिएको छ।
ललितपुर महानगरपालिकामा अन्तिम श्रद्धान्जलीपछि नेपाल प्रहरीले अन्तिम सलामी दिएपछि शरीरलाई पुनः अस्पताल लगिएको हो। जीवित छँदै शरीर दान गरेका जोशीको पार्थिव शरीर दाहसंस्कार नगरी अध्ययनका लागि राखिनेछ।
किष्ट अस्पताल, परिवार र ललितपुर महानगरपालिकाबीच भएको छलफलपछि जोशीको शवमा शरीर नगल्ने केमिकल राखेर संरक्षण गर्ने निर्णय भएको हो।
किष्ट अस्पतालका प्रोफेसर डाक्टर किशोरसिंह बस्नेतले केमिकल प्रयोग गरी संरक्षण गरेर जोशीको शरीर अध्ययनका लागि अस्पताल परिसरमै राखिने बताए।
जोशीको आज विहान ७ बजेर ९ मिनेटमा १०३ वर्षको उमेरमा किष्ट अस्पतालमा निधन भएको थियो।
असोज ३०, २०७९ आइतबार १६:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।