शारीरिक सुगठनको ५५ केजीमा गण्डकीका विवेक र ६० केजीमा पुलिसका डेभिडलाई स्वर्ण

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत शारीरिक सुगठनको पहिलो स्वर्ण गण्डकी प्रदेशले जितेको छ।
आइतबार पोखरा सभागृहमा भएको शारीरिक सुगठनतर्फको ५५ किलोग्राम तौल समूहमा गण्डकीका विवेक हमालले स्वर्ण जितेका हुन्। बागमती प्रदेशका दिनेश गोसाईंले रजत जित्दा आर्मीका रमेश फोम्बाले कास्य पदकमा चित्त बुझाएका छन्।
स्वर्णका लागि प्रि–जज राउण्डबाट छनोट भएका ५ जनाबाट विजेता छनोट गरिएको थियो। प्रि–जजबाट गण्डकीका हमाल, बागमतीका गोसाई, नेपाल प्रहरीका तेजबहादुर हमाल, एपिएफका कपिल गौतम र त्रिभुवन आर्मी क्लबका फोम्बो छनोट भएका थिए।
५५ किलो तौल समूहमा उनीहरूसँगै प्रदेश १ का अजय राजवंशी, लुम्बिनी प्रदेशका भानुभक्त कडोरिया, कर्णाली प्रदेशका प्रकाशबहादुर शाही र सुदुरपश्चिम प्रदेशका सुनिल राईका प्रतिस्पर्धा गरेका थिए।
त्यसपछि भएको ६० किलोग्राम तौल समुहमा नेपाल पुलिसका डेभिड बलामीले स्वर्ण, एपिएफका किसन दिवाकरले रजत र लुम्बिनी प्रदेशका सुनिल आलेले कास्य पदक जिते। आइतबार नै ६५, ७० र ७५ किलोग्राम तौल समूहको प्रि–जज र फाइनल हुने शारीरिक सुगठन खेल उपसमिति संयोजक शिवलाल श्रेष्ठले जानकारी दिए।
दुई दिनसम्म चल्ने खेलको पहिलो दिन ५५, ६०, ६५, ७० र ७५ किलोग्राम तौल समुहको फाइनल हुनेछ भने, दोस्रो दिन अन्य विधाका खेल हुनेछन्।
खेलमा पुरुषतर्फ ५५, ६०, ६५, ७०, ७५, ८० र ८० किलोग्राम माथिको इभेण्टसँगै फिजिक्स १७० सेमी र १७० सेमीमाथिको विधामा प्रतिस्पर्धा हुने छ। महिलाहरूले खुल्ला र फिजिक्स खुल्लामा प्रतिस्पर्धा गर्ने श्रेष्ठले बताए।
शारीरिक सुगठनमा महिला र पुरुषको सबै विधामा ११ स्वर्णका लागि प्रतिस्पर्धा हुँदैछ।
असोज ३०, २०७९ आइतबार १५:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।