मतदाता ब्ल्याकमेल गर्दै पौडेल, भन्छन्- 'केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ'

मतदाता ब्ल्याकमेल गर्दै पौडेल, भन्छन्- 'केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्छ'

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिको जनताले मूल्याङ्कन गर्नुपर्ने बताएका छन्।नेता पौडेलले केन्द्रमा पहुँच राख्नसक्ने व्यक्तिले जितेमा जिल्लामा विकास योजना आउने बताएका हुन्।

मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा यसपटक जनताले आफ्नो मूल्याङ्कन गर्ने पौडेलको भनाइ थियो।

आफूहरूले अहिले राजनीति र विकासको लडाइँ गर्दै आएको बताउँदै पौडेलले भने, “हामीहरू अहिले दोहोरो लडाइँमा छौँ, लोकतन्त्रका लागि पनि लड्दै आएका छौँ, विकासका लागि पनि लड्दै आएका छौँ।”

वरिष्ठ नेता पौडेलले गाउँगाउँमा खानेपानी, बाटो, विद्यालय, शिक्षा, स्वास्थ्य सेवा पुगेको र त्यसलाई निरन्तरता दिने योजनासहित आफूहरू लागिपरेको बताए।

गठबन्धन सरकार बनेपछि तनहुँमा दुई अर्बभन्दा बढीको बजेट आइसकेको पनि उनले दावी गरे। बुद्धसिं मार्गलाई रु ४६ करोड, मादी मर्स्याङ्दी सडकलाई रु ४० करोडको बजेट आइसकेको भन्दै उनले भने, “केन्द्रमा पहुँच पुग्ने व्यक्तिले जित्दा जिल्लामा विकास योजना आउँछ।”

असोज ३०, २०७९ आइतबार १२:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।