नवौं राष्ट्रिय खेलकुद: आईटीएफमा सेनालाई तीन र गण्डकीलाई एक स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा भइरहेको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बागलुङमा सुरु भएको आईटीएफ तेक्वान्दोको एकल प्याट्रनमा विभागीय टिम नेपाली सेनाले तीन र गण्डकी प्रदेशले एक स्वर्ण हात पारेको छ।
नीलो पेटीतर्फ नेपाली सेनाका धनसिंह परियार, कालो पेटी पहिलो डानमा सेनाकै भीमबहादुर तामाङ र नीलो पेटी महिलामा सुस्तिमा श्रेष्ठले स्वर्ण पदक जितेकी हुन्।
रातो पेटीतर्फ गण्डकी प्रदेशका भीमबहादुर गाहाले स्वर्ण पदक र लुम्बिनी प्रदेशका सन्देश सुनारले रजत पदक हासिल गरे।
नीलो पेटीमा प्याटर्नतर्फ लुम्बिनीका सफल परियारले रजत, कालो पेटीमा गण्डकी प्रदेशका प्रविण बुढाले रजत र नीलो पेटी महिलामा गण्डकीकै मोनिका कुँवरले रजत पदक प्राप्त गरेको नेपाल आईटीएफका महासचिव अञ्जु रावतले जानकारी दिइन्।
आईटीएफका एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनका बाँकी खेल आइतबारदेखि सुरु हुँदैछन्। प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टिमका दुई सय ५० खेलाडी सहभागी छन्।
आईटीएफ तेक्वान्दोमा २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि प्रतिस्पर्धा हुनेछ।
असोज ३०, २०७९ आइतबार १२:०४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।