नवौं राष्ट्रिय खेलकुद: फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई ३-३ स्वर्ण

नवौं राष्ट्रिय खेलकुद: फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र आर्मीलाई ३-३ स्वर्ण

पोखरा: गण्डकी प्रदेशमा संचालन भइरहेको नवौं राष्ट्रिय खेलकुदअन्तर्गत फुल कन्ट्याक्ट कराँतेमा गण्डकी र नेपाल आर्मीले ३-३ स्वर्ण जितेका छन्। कराँतेमा पुरुषका ७ र महिलाका ५ विधा गरी १२ विधामा भएको प्रतिस्पर्धामा गण्डकीले पुरुषतर्फको ३०-४०, ४५-५० तौल समूहमा स्वर्ण र महिलातर्फको ५०-५५ तौल समूहमा एक स्वर्ण जितेको हो। 

त्यसैगरी नेपाल आर्मीले खुला तौल समूह पुरुष, महिला र ६०—६५ केजी तौल पुरुषमा समूहमा स्वर्ण जितेको हो।

खेलमा पुरुषतर्फको खुला तौल समूहमा नेपाल आर्मीका विजय सिंहले स्वर्ण जितेका छन्। उनले गण्डकीका रूपक नेपालीलाई फाइलनमा पराजित गरी स्वर्ण जितेका हुन्। सातौं र आठौं राष्ट्रिय खेलकुदमा स्वर्ण जितेका नेपालीको ह्याट्रिक गर्ने दाउमा आर्मीका सिंह तगारो बने। नेपालीले रजत पदकमा चित्त बुझाउन बाध्य भए।

पुरुषतर्फकै ६०-६५ केजी तौल समूहमा पनि नेपाल आर्मीका सनी सिंहले स्वर्ण जितेका छन्। उनले गण्डकीका शिव भुजेललाई पराजित गरी स्वर्ण जितेका हुन्। भुजेलले रजत पदक मात्र जित्न सफल भए।

पुरुषतर्फकै ५५-६० केजी तौल समूहमा नेपाल प्रहरीका सुशन लामिछानेले स्वर्ण र नेपाल आर्मीका विकास गुरुङले रजत पदक जितेका छन्।

पुरुषतर्फकै ५०-५५ केजी तौल समूहमा मधेश प्रदेशका धरमिन्दर रामले स्वर्ण जित्दा नेपाल आर्मीका चोकबहादुर बुढाथोकीले रजत पदकमा चित्त बुझाए। यसैगरी ४५-५० केजी तौल समूहमा गण्डकीका अनिष बुढामगरले बागमतीका विजय राईलाई पराजित गरी स्वर्ण जितेका छन् भने बागमतीका राईले रजतमा चित्त बुझाएका छन्।

४०-४५ केजी तौल समूहमा सशस्त्र प्रहरीका सुनील तामाङले स्वर्ण जितेका छन् भने आर्मीका राजकुमार यादवले रजत पदक जितेका छन् । पुरुषतर्फको ३५—४० तौल समूहमा गण्डकीका अभिषेक डिमडुङले नेपाल आर्मीका सागर थिङलाई फाइनलमा पराजित गरी स्वर्ण जितेका छन् । थिङले रजत पदक हात पारे ।  

महिलातर्फको खुला तौल समूहमा नेपाल आर्मीका मञ्जु विकले स्वर्ण पदक जितेकी छन्। उनले बागमती प्रदेशकी निशा बोहोरालाई पराजित गरी स्वर्ण जितिन्। बोहोराले रजत पदक पाइन्।

५०-५५ केजी तौल समूहमा गण्डकीकी धनी रानामगरले नेपाल आर्मीका पत्रिका चन्दलाई पराजित गरी स्वर्ण जित्न सफल भइन् भने चन्दले रजत पदकमा चित्त बुझाइन्। ४५-५० केजी तौल समूहमा बागमती प्रदेशकी नवीना धमालले सशस्त्र प्रहरीकी करिष्मा कार्कीलाई पराजित गरी स्वर्ण जित्दा कार्कीले रजत पदक जितिन्।

४० देखि ४५ केजी तौल समूहमा सशस्त्र प्रहरीकी रिना माझीले नेपाल प्रहरीकी अञ्जना ढुंगेललाई पराजित गरी स्वर्ण जितेकी छन् भने ढुंगेलले रजत पदक जितिन्।

महिलातर्फको ३५-४० तौल केजी समूहको खेल भने स्थगित भएको छ। सशस्त्र प्रहरीले रेफ्रीले गलत निर्णय गर्दा आफ्नो खेलाडी पराजित भएको भन्दै विवाद गरेपछि खेल स्थगित भएको प्रतियोगिता सहसंयोजक दीपक गोदारले बताए।

पोखराको प्रदर्शनी केन्द्रमा भएको प्रतिस्पर्धा खेलमा सात वटै प्रदेश, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाल आर्मी र एनआरएनए गरी ११ टिम सहभागी भएका थिए। अन्तर्राष्ट्रियस्तरको रिङ निर्माण गरी अन्तर्राष्ट्रिय नियमअनुसार प्रतिष्पर्धा गराइएको थियो।

असोज ३०, २०७९ आइतबार ११:१२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।