नवौं राष्ट्रिय खेलकुदमा बिजाेग : छैन टार्गेट बोर्ड, आर्चरीको समूह खेल दुई पटक गरेर खेलाइँदै

पोखरा : नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा गण्डकी प्रदेशको राजधानी पोखरामा जारी छ। शनिबार ४ करोड रूपैयाँ खर्च गरेर भव्य रूपमा उद्घाटन गरिएको प्रतियोगितामाको खेल संरचनामा भने आयोजकले ध्यान दिन नसकेको देखिएको छ।
शनिबारबाट सुरु भएको आर्चरी खेलमा टार्गेट बोर्ड नहुँदा समूहतर्फको खेल पनि दुईपटक गरेर खेलाइएको थियो। उद्घाटनमा ठूलो रकम खर्च गरेको राष्ट्रिय खेलकुद परिषद्ले खेलको मैदान र खेल सामग्रीको उचित व्यवस्थापन भने गर्न नसकेको देखियो।
व्यवस्थापन र आयोजकको यस्तो अवस्थाका कारण आर्चरी खेल संघका अधिकारीहरूले आवश्यक खेलसामाग्री तत्काल व्यवस्था गर्न माग गरेका छन्।
यसैबीच खेल सामग्री अभावकैबीच शनिबार भएको आर्चरी खेलतर्फ गण्डकी प्रदेशका खेलाडी अगाडि देखिएका छन्। स्टान्डर्ड (३० मिटर) विधामा पुरुषतर्फ गण्डकीका दुर्गा घर्ती मगर र महिलातर्फ अनुश्का शेरचन उच्च स्कोरका साथ पहिलो वरीयतामा छन्।
र्याङकिङ राउण्डमा पुरुषतर्फ २९ जनाले सहभागिता जनाएकोमा दुर्गा ६६८ अंक प्राप्त गर्दै सबैभन्दा अगाडि रहेका हुन्। ७२० पूर्णाङ्क रहेको खेलमा नेपाल पुलिसका नगेन्द्र आचार्य ६५३ अंकका साथ वरीयताको दोस्रो स्थानमा र गण्डकीकै खड्ग घर्ती ६४९ अंक ल्याउँदै तेस्रो वरीयतामा पर्न सफल भए। स्टान्डर्ड विधामा ३४ खेलाडीले नाम दर्ता गरेकोमा ५ जना अनुपस्थित रहे।
महिलातर्फ अनुश्काले सर्वाधिक ६१६ अंक बटुल्दै अग्रस्थानमा छिन्। ६१३ अंक प्राप्त गरेकी नेपाल आर्मीकी शारदा विक दोस्रो वरीयतामा रहँदा एपीएफकी सोनु जया राईले ६०१ अंक ल्याउँदै तेस्रो स्थानमा रहिन्। महिलातर्फ यो विधामा १४ खेलाडी सहभागी छन्।
समग्र टीमतर्फ पुरुषमा गण्डकी र महिलातर्फ भने आर्मी अग्रस्थानमा रहेका छन्। तीन उत्कृष्ट खेलाडीको योगफल पुरुषतर्फ गण्डकी टीमको १ हजार ९६० र महिलातर्फ आर्मीको १ हजार ७५३ स्कोर रहेको छ। पुरुषतर्फ दोस्रो स्थानमा एपीएफको अंक १९१२ र तेस्रो स्थानमा पुलिसको १८६९ छ। महिलातर्फ दोस्रो स्थानमा गण्डकी (१६६९ अंक) र तेस्रो स्थानमा प्रदेश १ (१५५५ अंक) रहेका छ।
आइतबार बिहानदेखि स्टान्डर्डको महिला पुरुष दुवैको इलिमिनेशन राउण्डका खेल हुने गण्डकी प्रदेश आर्चरी संघका अध्यक्ष एवं केन्द्रीय वरिष्ठ उपाध्यक्ष बसन्त थकालीले जानकारी दिए। पोखरा रंगशालास्थित आर्चरी मैदानमा सञ्चालन भइरहेको खेलमा दिउँसो भने कम्पाउण्ड (५० मिटर) र रिकर्भ (७० मिटर) विधातर्फ पुरुष र महिलाको र्याङकिङ राउण्ड हुनेछ।
खेलमा ५ प्रदेश, ३ विभागीय र एनआरएनए गरी नौ टीमको सहभागिता रहेको छ। प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी, सुदुरपश्चिम प्रदेश, त्रिभुवन आर्मी क्लब, शसस्त्र प्रहरी बलको एपिएफ, नेपाल पुलिस क्लबले सहभागिता जनाएका छन्। मधेश र कर्णाली भने सहभागी भएनन्।
असोज २९, २०७९ शनिबार २०:३९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।