रप्फु मास्टर बाबुराम : तीन नेताले बुढीगण्डकीमा नौ अर्ब घुस खाएको आरोप लगाए, आफैँले सफाइ दिए

गोरखा : माओवादी केन्द्रसँगै कम्युनिस्ट राजनीति छाडेको घोषणा गरेका बाबुराम भट्टराई २०७९ को निर्वाचनसम्म आइपुग्दा पुरानै दलसँग चुनावी तालमेल गर्न बाध्य भए।
वैकल्पिक दलको निर्माण भन्दै नयाँ शक्ति नेपाल गठन गरेका उनका कुनै प्रयास सफल भएनन्। उनले शक्ति सञ्चय गर्दै जनता समाजवादी पार्टीको सङ्घीय प्रदेश अध्यक्षसम्म बन्न सफल भए पनि टिक्न सकेनन् र नेपाल समाजवादी पार्टी गठन गरेर अलग भए।
बढ्दो राजनीतिक ध्रुवीकरणसँगै दलसँगै आफ्नाको राजनीतिक भविष्य नै अनिश्चित देखेपछि आफ्नो निर्वाचन क्षेत्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिएर आफ्नो छोरीको राजनीतिक भविष्य निर्माणमा केन्द्रित हुन बाध्य भएका उनी व्यवहारिक रूपमा प्रचण्डमा विलीन भइसके। तर पुराना आरोपले अझैँ छाडेका छैनन् बाबुरामलाई।
उनले यो बिचमा शीर्ष दलका नेताहरूमाथि निकै गम्भीर आरोपहरू लगाउँदा छानबिनको मागहरू गरेका थिए। तर अहिले जब उनीहरूसँगै सहकार्य गर्नुपर्ने बाध्यता आइलाग्यो उनी आफ्नै भनाइको खण्डन गर्न व्यस्त छन्।
उनले सत्ताधारी दलका शीर्ष नेता शेरबहादुर देउवा र प्रचण्डमाथि लगाएको सबैभन्दै गम्भीर आरोप हो नौ अर्ब घुसको। गोरखा पुगेर बाबुरामले बूढी गण्डकी जल विद्युत् आयोजना चिनिया कम्पनीलाई दिन देउवा र प्रचण्डले नौ अर्ब घुस खाएको दाबी मात्र गरेका थिएनन्। उनले त्यसको प्रमाण समेत आफूसँग रहेको दाबी गरेका थिए।
तर अहिले उनी आफूसँग प्रमाण रहेको दाबी गरेको सूचना नै अपुष्ट रहेको र कुनै विवाद नभएको दाबी गर्न थालेका छन्। आफूलाई झुट नबोल्ने नेता दाबी गर्ने उनले न हिजोको दाबी झुटो हो भनेर स्वीकार गरे न आज।
शनिवार गोरखामा नेपाली कांग्रेस पार्टी कार्यालयमा आयोजित गठबन्धन दलहरूको अभिमुखीकरण कार्यक्रममा भट्टराईले नेपाली आफैँले बनाउनुपर्ने आयोजना कता–कता कसको खेलमा बाहिर जान लाग्यो भन्ने अर्थमा हिजो आफूले अलिकति आलोचना गरेको दाबी गर्दै अब सच्चिएको दाबी गरे।
आयोजना निर्माणको जिम्मा चिनियाँ कम्पनी (गेजुवा ग्रुप) लाई दिँदा देउवा, ओली र प्रचण्डले ९ अर्ब रुपैयाँ घुस खाएको प्रमाण समेत रहेको दाबी गरेका भट्टराईले आफ्नो कुरा फेर्दै भने, 'मैले केही सूचनाहरू पाएको थिएँ, तर ती सूचनाहरू अपुष्ट थिए, त्यसको आधारमा मैले त्यो बेला बोलेकै हो। तर अब त्यो सच्चियो।'
उनले कार्यक्रममा हिजो के को आधारमा तीन पूर्व प्रधानमन्त्रीले नौ अर्ब घुस खाएको गम्भीर आरोप लगाए अनि अहिले केको आधारमा सच्चियो भन्ने खुलाउन सकेनन्।
असोज २९, २०७९ शनिबार १९:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।