काठमाडाैंकाे टेकुसहित देशका विभिन्न स्थानमा आठ जना मृत भेटिए

काठमाडाैंकाे टेकुसहित देशका विभिन्न स्थानमा आठ जना मृत भेटिए

काठमाडौं : देशका विभिन्न स्थानमा आठ जना मृत अवस्थामा भेटिएका छन्।

काठमाडौं, ललितपुर, बारा, दाङ, खोटाङ, सुर्खेत, कैलाली र बझाङमा गरेर आठ जना मृत अवस्थामा भेटिएको प्रहरी प्रधानका कार्यालयले जनाएको छ।

काठमाडौं महानगरपालिका–१३ कालीमाटीबाट टेकु जाने नयाँ पुलमा हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेको छ।

ललितपुरको बागमती गाउँपालिका–७ गिम्दी मगरगाउँ बस्ने ५५ वर्षीय रेत बहादुर क्याप्छाकी मगर आफ्नै घरभित्र शुक्रबार मृत अवस्थामा फेला परेकी छन्।

बारामा करैयामाई गाउँपालिका–७ उमजनस्थित टियर खोलामा सोही ठाउँ बस्ने ४० वर्षीय बिपत महरा शुक्रबार मृत अवस्थामा फेला परेका छन्।

दाङको तुलसीपुर उपमहानगरपालिका–१३ बखरियास्थित बबई नदीमा सोही नगरपालिका(१४ बस्ने ५१ वर्षीया ईन्द्र बहादुर चौधरी शुक्रबार मृत अवस्थामा फेला परेका छन्। नदी तर्ने क्रममा नदीले बगाई बेपत्ता भएका चौधरीको शव घटनास्थलदेखि १ किलोमिटर टाढा भेटिएको थियो।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ बानाचुङ बस्ने २८ वर्षीय खड्ग बहादुर बर्देवा आफ्नै घरको कोठामा सुतिरहेको अवस्थामा शुक्रबार मृत फेला परेका छन्।

सुर्खेतको गुर्भाकोट नगरपालिका–८ खटाङस्थित भेरी नदीको किनारमा हाल नाम, थर, वतन नखुलेका करिब ३५ वर्षीय पुरुष शुक्रबार मृत अवस्थामा फेला परेको छन्।

कैलालीको गोदावरी नगरपालिका–२ अत्तरिया बसपार्कस्थित प्रतिक्षालयको पेटीमा हाल नाम, थर, वतन नखुलेका करिब ६० वर्षीय पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

बझाङको दुर्गाथली गाउँपालिका–२ गौरेनी भन्ने जङ्गलमा हाल नाम, थर, वतन नखुलेका पुरुष शनिबार मृत अवस्थामा फेला परेका छन्।

असोज २९, २०७९ शनिबार १७:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।