
हुलाक सेवा विभागले अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने

काठमाडौं: हुलाक सेवा विभागले यही असोज महिनाभित्र अन्तर्राष्ट्रिय डाँक सेवा पुनः सञ्चालन गर्ने भएको छ। यसका लागि विभागले अन्तर्राष्ट्रिय विमान कम्पनी र सरोकारवालासँग छलफल, समन्वय र पत्राचार गरेको छ।
विभागका महानिर्देशक इन्दु घिमिरेले अन्तर्राष्ट्रिय डाँक सेवालाई पुनः सञ्चालन गर्ने प्रक्रिया अगाडि बढाइएको बताए।
द्रुत डाँक सेवा, पार्सल/सामान वा मालवस्तु र चिठ्ठीपत्रको काम गर्दै आएको विभागले आन्तरिक द्रूत सेवाअन्तर्गत हवाईमार्गमार्फत काठमाडौं, भक्तपुर, ललितपुर, कास्की, मोरङ, धनुषा, बारा, रुपन्देही, बाँके र कैलाली जिल्लामा एक दिनमा पर्वत, स्याङ्जा, तनहुँ, सुनसरी, सप्तरी, सिरहा, महोत्तरी, रौतहट, कपिलवस्तु, नवलपरासी, चितवन, बर्दिया, सुर्खेत, कञ्चनपुर, मुगु, डोल्पा र जुम्लामा दुई दिन र बाँकी जिल्लामा तीन दिनमा सेवा प्रदान गर्दै आएको छ।
महानिर्देशक घिमिरेले नेपालको पुरानो, विश्वसनीय, जनमनमा बसेको संस्था हुलाक सेवालाई पुनःक्रियाशील र पुनःजीवित बनाउने योजना समेत सुनाए।
व्यक्तिगत र संस्थागत ईएमएस, पार्सल, चिठीपत्र हुलाकमार्फत ढुवानी गर्न केही सुधारका कार्य गर्ने विभागको योजना छ।
असोज २९, २०७९ शनिबार १२:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।