दल र उम्मेदवारबारे दुष्प्रचार नगर्न काउन्सिलको अपिल

काठमाडौं : प्रेस काउन्सिल नेपालले राजनीतिक दल तथा उम्मेदवारका बारेमा आधारहीन, अप्रमाणित तथ्यलाई लिएर विभिन्न टिकाटिप्पणी, आरोपप्रत्यारोप, दुष्प्रचार र चरित्रहत्या हुने किसिमले सामग्री सम्प्रेषण नगर्न सम्पूर्ण सञ्चार माध्यम र पत्रकारलाई आग्रह गरेको छ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको सन्दर्भमा शुक्रबार प्रेस विज्ञप्ति जारी गरी काउन्सिलले यस्तो आग्रह गरेको हो।
काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत एवं प्रवक्ता दीपक खनालद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ– ‘सञ्चार माध्यमलाई गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू प्राप्त हुन सक्दछन्। मिथ्या, दुष्प्रचारयुक्त सामग्रीको तथ्यगत परीक्षण गर्न, यस्ता अभिव्यक्तिलाई स्थान नदिन र कसैको पक्ष वा विपक्ष हुने एवं राजनीतिक दल वा उम्मेदवारको चरित्रहत्या हुने सामग्री सम्प्रेषण हुन नदिनतर्फ सञ्चार माध्यम सदैव सजग हुनुपर्दछ।’
प्रेस काउन्सिलले सञ्चार माध्यम, पत्रकार एवम् पत्रकारितासँग सम्बन्धित संस्थाबाट कुनै दल विशेष वा उम्मेदवारलाई मतआह्वान गर्ने, राजनीतिक दल एवम् उम्मेदवारको प्रचारप्रसारलाई प्रश्रय दिंँदै शेयर र कमेन्ट गर्ने एवं स्टाटस लेख्ने, अपिल गर्ने, सामाजिक सञ्जालबाट समेत पक्ष विपक्षमा कुनै सन्देश, सूचना प्रवाह गर्ने कार्य नगर्न पनि अपिल गरेको छ।
यस्तो कार्यले स्वतन्त्र पत्रकारितामाथि नै गम्भीर प्रश्न उठ्ने हुँदा यस्तो कार्य नगर्न÷नगराउन र मतदाता शिक्षा एवं निर्वाचनसँग सम्बन्धित समाचार सामग्रीहरू प्राथमिकतासाथ सम्प्रेषण गर्न पनि प्रेस काउन्सिल नेपालले सम्बन्धित सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तालाई आग्रह गरेको छ।
असोज २८, २०७९ शुक्रबार १७:२२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।