राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिटको सुनुवाइ आज स्थगित

राजु गुरुङको उम्मेदवारी खारेजीविरुद्धको रिटको सुनुवाइ आज स्थगित

बुटवल: रुपन्देही क्षेत्र नं. २ बाट सत्ता गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका राजु गुरुङको उम्मेदवारी खारेजविरुद्धको रिटमाथिको सुनुवाइ आज स्थगित भएको छ। रिट निवेदकको कानून व्यवसायीले दिएको निवेदनका आधारमा सर्वोच्च अदालतले आजको सुनुवाइ स्थगित गरेको हो।

आज सुनुवाइको लागि न्यायाधीश हरिप्रसाद फुँयालको एकल इजलासमा पेशी चढेको थियो।

अदालतमा विचाराधीन भएको मुद्दा तथा उजुरी नपरेको अवस्थामा प्रक्रिया नै पूरा नगरी उम्मेदवारी खारेज भएको भन्दै गुरुङले बिहीबार अदालतमा उजुरी दिएका थिए। गुरुङलाई अदालतले बैंकिङ कसूरमा दुई हजार रुपैयाँ जरिवाना गरेको र उक्त जरिवानासहितको भुक्तानी दिनुपर्ने रकम नदिएको प्रमाण फेला परेपछि उनको उम्मेदवारी खारेज भएको थियो।

गुरुङसहित एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालका छोरा निर्भिक खनालका नाममा रहेको कम्पनीले वेस्ट प्रोजेक्ट कन्स्ट्रक्सन्स एन्ड सप्लार्यस प्रालिका अध्यक्ष अन्जित विष्टलाई दिएको चेक बाउन्स भएपछि उनीहरूविरूद्ध २०७६ साउन ६ गते मुद्दा दर्ता भएको थियो।

काठमाडौं जिल्ला अदालतले नर्थ वेस्ट नेपाल इन्फ्रा प्रा.लि.का अध्यक्ष राजु गुरुङ र सञ्चालक निर्भीक चित्रकार खनाल, फुर्वा छिरिङ शेर्पा, सञ्जीव राई र शक्तिमान डंगोल समेतले दिएको चेक अनादरसम्बन्धी मुद्दामा २०७८ मंसिर १२ गते उनीहरूमाथि जरिवाना गर्ने फैसला गरेको थियो।

गुरुङ लगायतलाई जनही दुई हजार जरिवाना र दुई करोड २५ लाख रुपैयाँको चेक काटिएको मितिदेखि २०७६ साउन ६ गतेसम्मको सयकडा १० प्रतिशतका दरले कानून बमोजिमको ब्याजसहित भुक्तानी दिनुपर्ने फैसला गरेको थियो।

उक्त कम्पनीले २०७३ साल फागुन २० गते २५ लाख, फागुन ३० गते २५ लाख, चैत १५ गते २४ लाख, चैत ३० गते ५४ लाख, २०७४ वैशाख १५ गते २५ लाख, वैशाख ३० गते ३० लाख, जेठ १५ गते ३५ लाख रुपैयाँ गरी ७ वटा चेक दिएकामा बैंकमा पर्याप्त रकम नभएको भन्दै फिर्ता भएपछि उनीहरूविरुद्ध उजुरी परेको थियो।

असोज २८, २०७९ शुक्रबार १४:२१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।