राजनीतिक स्थिरता र सुशासन कायम गर्न गठबन्धन: रामचन्द्र पौडेल

काठमाडौं: नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजनीतिक स्थिरता र सुशासन कायम गर्न वर्तमान गठबन्धन क्रियाशील रहेको बताएका छन्। आज तनहुँको व्यास नगरपालिका–१३ मा मतदातासँगको भेटघाटका क्रममा उनले राजनीतिक स्थिरता कायम गरी देश विकास गर्ने लक्ष्य आफूहरूको रहेको बताएका हुन्।
गाउँमै रोजगारी र गाउँमै आम्दानी सिर्जना हुने वातावरण बनाइने जानकारी गराउँदै उनले आफूले सोही लक्ष्य लिएर राजनीति सुरु गरेको बताए। “गाउँमा सुविधा र रोजगारीको अवसर नभएपछि मानिस शहर झरेका छन्, अहिले गाउँमा सबै सुविधा पुगिसकेको छ, अब आम्दानी र रोजगारीको अवसर पनि पुग्छ”, उनले भने।
तनहुँले विकासमा काँचुली फेर्ने जिकिर गर्दै नेता पौडेलले शेरबहादुर देउवाको नेतृत्त्वमा सरकार बनेपछि यो समयमा मात्र तनहुँमा रु दुई अर्बभन्दा बढी बजेट आएको र यसले निरन्तरता पनि पाउने उल्लेख गरे।
सडक, पुल, खानेपानीको विकासले तीव्रता पाएको र कषि तथा पर्यटनमा पनि क्रान्ति हुँदै गएको उनले उल्लेख गरे।
असोज २८, २०७९ शुक्रबार १३:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।