सुनकोसी-मरिन डाइभर्सनको निरीक्षण गर्दै ऊर्जामन्त्री भुसालले भनिन्, 'खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमै रहन्छ'

काठमाडौं: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सुनकोसी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको निरीक्षण गरेकी छिन्। उनले आयोजनास्थलको आज निरीक्षण गर्दै यसले राष्ट्रको समृद्धिको सपना पूरा गर्ने बताएकी हुन्।
उनले भनिन्, 'नेपालमा हाल साढे तीन खर्बको खाद्यान्न आयात हुन्छ। खाद्यान्न आयातमा विदेश जाने पैसा नेपालमा नै रहन्छ, त्यो पनि यहीँका किसानको हातमा पैसा बस्छ।'
मन्त्री भुसालले आयोजना निर्माणपछि स्थानीयस्तरमा नै रोजगार सिर्जना हुने, खाद्यान्नको नाममा विदेश जाने पैसा बचत हुने र नागरिकको आर्थिक अवस्थामा पनि सकरात्मक सुधार ल्याउने बताइन्।
यस आयोजनालाई भौतिक पूर्वाधरले मात्र नभएर आर्थिक विकासले पनि अति महत्त्वपूर्ण मानिएको छ। सुनकोसीको पानी मरिन खोलामा खसालेर हालको बागमती सिँचाई आयोजनाको संरचनामार्फत तराईका धनुषा, महोत्तरी, सर्लाही, रौतहट र बारा जिल्लको करिब एक लाख २२ हजार हेक्टर जमिनमा आयोजना मार्फत सिँचाईको सहज पहुँच पुर्याउन सकिने छ।
साथै ३१.०७ मेगावाट क्षमताको जलविद्युत उत्पादन हुनेछ।
बागमती प्रदेशको जलस्रोतलाई मधेश प्रदेश पुर्याएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने मन्त्री भुसालको दावी छ। यस वर्ष सरकारले राष्ट्रिय गौरवको यो आयोजनाका लागि दुई अर्ब ७० करोड बजेट विनियोजन गरेको छ।
सुनकोसी–मरिन डाइभर्सन आयोजनाले अटोमेटिक टनेल बोरिङ मेसिन 'टीबीएम' बाट सुरुङ खन्न सुरु गरेको आयोजना प्रमुख मित्र बरालले बताए। सो मेसिनले आउँदो २२ महिनामा १३.३ किलोमिटर सुरुङ खन्ने कार्यसम्पन्न हुने उनले बताए।
सुरुङ खन्ने क्रममा भौगर्भिक रूपमा कुनै समस्या नआए समय तालिका भित्रै सुरुङ खन्ने काम सकिने उनको भनाइ छ।
विसं २०७७ फागुन २० गते सुनकोसी-मरिन डाइभर्सन बहुउद्देशीय आयोजनाको शिलान्यास भएको थियो। आयोजनाको पहिलो चरणको कार्य अन्तर्गत सुरुङ निर्माणको लागि निर्माण व्यवसायी चाइना ओभरसिज इन्जिनियरिङ ग्रुपसँग १९ मार्च २००१ म निर्माण सम्झौता भई निर्माण भइरहेको छ।
असोज २८, २०७९ शुक्रबार १३:४०:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।