केपी ओलीले प्रतिगामीसँग साँठगाँठ गरेका छन्ः शहरी विकासमन्त्री चौधरी

केपी ओलीले प्रतिगामीसँग साँठगाँठ गरेका छन्ः शहरी विकासमन्त्री चौधरी

दाङ: दाङ क्षेत्र नम्बर १ का सत्ता गठबन्धनका उम्मेदवार एवं शहरी विकासमन्त्री मेटमणि चौधरीले एमाले अध्यक्ष केपी ओलीले प्रतिगामीसँग साँठगाँठ गरेको बताएका छन्। पाँच दलीय बाम लोकतान्त्रिक गठबन्धनद्वारा बिहीबार लमहीमा आयोजित संयुक्त कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताएका हुन्।

उनले भने, ‘आज हामी विशेष परिस्थितिमा छौँ। सबै दल एक ठाउँमा आएका छौँ। नेपालको संवैधानिक सर्वाेच्चता, कानूनी राज्य, समावेशी लोकतन्त्र, गणतन्त्रलाई संस्थागत गर्न फेरि पनि एक हुनुपरेको छ। २००७ सालदेखि हामी पटक पटक एक ठाउँमा आएका छौँ। मिलेरै राष्ट्रिय चुनौतिहरूको सामना गरेका छौँ। आज फेरि प्रतिगामीहरूसँग केपी ओलीले साँठगाँठ गरेर संविधानले सुनिश्चित गरेका नयाँ उपलब्धिहरू समाप्त पार्न खोजिरहेका छन्।’

देउखुरीका नेता परशुनारायण चौधरी, खुमबहादुर खड्का दुवैले कसैलाई पनि काखा पाखा नगरी काम गरेको स्मरण गर्दै मन्त्री चौधरीले भने, ‘समस्या राख्ने जोसुकैको काम गरिदिने उहाँहरूको अत्यन्त राम्रो बानी थियो। उहाँहरूले यो क्षेत्रलाई मात्र होइन सिंगो नेपाली कांग्रेसलाई यो स्थानमा पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। विकास, निर्माण र रोजगारीका क्षेत्रमा उहाँहरूको योगदान भुल्न सकिँदैन।’

कार्यक्रममा लुम्बिनी प्रदेशका मन्त्री इन्द्रजीत थारु, माओवादी जिल्ला इन्चार्ज निर्मल गौतम, क्षेत्र नम्बर १ (ख)का उम्मेदवार अनुराग खड्का, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भेषराज पाण्डे, एकीकृत समाजवादीका नेता रामप्रसाद गैरे लगायत गठबन्धनका नेताहरूले मन्तव्य राखेका थिए।

असोज २८, २०७९ शुक्रबार १३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।