भव्य समारोहबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज पोखरामा हुँदै

पोखरा: नवौं राष्ट्रिय खेलकुदको उद्घाटन आज हुँदैछ। भव्य समारोहबीच आज उपराष्ट्रपति नन्दबहादुर पुनले अपराह्न ४ बजे पोखरा रङ्गशालामा खेलकुद प्रतियोगिताको उद्घाटन गर्नेछन्।
उद्घाटन समारोहका लागि उपराष्ट्रपति पुन बिहीबार नै पोखरा आएका छन्। युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराजलगायत पनि पोखरा आइसकेका छन्। यस्तै सबै खेलका लागि खेलाडी तथा अफिसियल पनि पोखरा आइपुगेका छन्।
यसअघि कुल सात हजार ७९९ खेलाडी प्रतिस्पर्धामा भाग लिने भनिए पनि यसपटक ६ हजार १५७ खेलाडीले प्रतिस्पर्धामा भाग लिने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टङ्कलाल घिसिङले जानकारी दिए। प्रतियोगितामा ३६ खेल र दुई प्रदर्शनीसहित ३८ खेल समावेश छन्। प्रतियोगितामा सात प्रदेश, तीन विभागीय र एनआरएन गरी ११ टोली सहभागी बन्नेछन्।
उद्घाटन समारोहमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीबाट मार्चपास, सातै प्रदेशका सांस्कृतिक झाँकी प्रदर्शनी, विद्यार्थीहरूबाट ड्रिल प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रमलगायत आतिशबाजीसहितका मनोरञ्जनात्मक कार्यक्रम गर्ने तयारी छ। त्यस्तै ११ वटै टोलीको मस्कटसहित मार्चपास, ओलम्पिक टर्च प्रज्ज्वलनलगायत तयारी गरिएको छ।
औपचारिकरूपमा आज उद्घाटन हुने भए पनि केही खेल यसअघि नै सुरु भइसकेका छन्। हालसम्म बागमती प्रदेशले चार स्वर्ण र एक रजत, नेपाली सेनाको त्रिभुवन आर्मी क्लबले तीन स्वर्ण र तीन रजत तथा सशस्त्र प्रहरी बलको एपीएफ क्लबले एक स्वर्ण, तीन रजत र ६ कास्य प्राप्त गरेको छ।
त्यस्तै सुदूरपश्चिमले एक स्वर्ण र तीन कास्य, नेपाल पुलिसले एक स्वर्ण, प्रदेश नं १ ले तीन कास्य तथा आयोजक गण्डकी प्रदेशले एक कास्य प्राप्त गरिसकेको छ।
प्रतियोगितामा कुल पदक सङ्ख्या स्वर्ण तीन सय ९३, रजत तीन सय ९३ र कास्य ६ सय रहेको बताइएको छ।
कोरोना, स्थानीय निर्वाचनलगायतका कारण २०७७ सालमा नै हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद ढिलो भएको हो। यसअघि नेपालगञ्जमा सम्पन्न आठौं राष्ट्रिय खेलकुदको समापनका दिन नवौं राष्ट्रिय खेलकुद २०७७ फागुन २१ देखि २७ सम्म गण्डकी प्रदेशमा हुने जानकारी गराइएको थियो।
विसं २०३८ देखि सुरु नेपाली राष्ट्रिय खेलकुदको इतिहासमा २०४० मा दोस्रो संस्करणको राष्ट्रिय खेलकुद आयोजना गर्ने अवसर पाएको पोखरालाई ३९ वर्षपछि नवौं राष्ट्रिय खेलकुद घरेलु मैदानमा गर्ने मौका मिलेको छ। खेलकुदको उद्घाटन हुने दिन आज बिहानैदेखि पोखराको मौसम खुलेको छ।
३६ खेलमध्येका २६ खेल पोखरामा र अन्य गण्डकीका अरू जिल्लामा गर्ने गरी तय भएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेश गुरुङले जानकारी दिए।
गण्डकीका लमजुङ, मनाङ र मुस्ताङबाहेकका सबै जिल्लामा नवौं राष्ट्रिय खेलकुदका खेल सञ्चालन हुनेछन्।
असोज २८, २०७९ शुक्रबार ०७:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।