उम्मेदवारको खर्चको जासुसी गर्न प्रहरी र राअबी परिचालन

उम्मेदवारको खर्चको जासुसी गर्न प्रहरी र राअबी परिचालन

काठमाडौं : निर्वाचन आयोगले उम्मेदवार र राजनीतिक दलको निर्वाचन खर्च विवरण प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको स्थानीय संरचनामार्फत सङ्कलन गर्ने तयारी गरेको छ।

आयोगको निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको बैठकले उम्मेदवार र राजनीतिक दलले निर्वाचनमा खर्च गर्दा सीमा नाघेकाले स्थानीय प्रहरी र राअबीबाट सङ्कलन गर्ने निर्णय गरेको हो।

‘निर्वाचन आचारसंहिता पालना भए नभएको सम्बन्धमा तल्लो तहबाटै निगरानी गर्नुपर्ने भएकाले खर्च तथा आचारसंहिता पालनाको सम्बन्धमा गहन र सूक्ष्म अध्ययन तथा निगरानी गर्न निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउन गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई लेखी पठाउने निर्णय गरेको गरिएको छ’ आयोगको विज्ञप्तिमा भनिएको छ।

अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत रहेको छ।

समितिको बैठकले सबै जिल्लाका निर्वाचन आचारसंहिता अनुगमन अधिकृतलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा १३ को उपदफा (२) मा सो दफाको उपदफा (१) को खण्ड (ज) कार्यान्वयन गर्न निर्देशन पनि दिएको छ।  

त्यसमा कसैको निजी घरजग्गामा वा सार्वजनिक भवन, सार्वजनिक उद्यान, सडकका पोल वा कुनै पनि सार्वजनिक स्थानमा दलको झन्डा, दल वा उम्मेदवारको निर्वाचन चिन्ह राखेमा सम्बन्धित निर्वाचन क्षेत्रको सम्बन्धित उम्मेदवारले राखेको मानी कारबाही गर्न सकिने छ।

‘प्रचार सामग्री राखिएको, भित्ते लेखन गरिएको, तुल ब्यानर टाँगिएको, डिजिटल डिस्प्ले गरिएको, पर्चा टाँसिएको अवस्थामा सम्बन्धित उम्मेदवारलाई स्पष्टीकरण सोधी चौबीस घण्टाभित्र त्यस्तो सामग्री हटाउन वा त्यस्तो स्थान दुरुस्त गर्न लगाउने र सो बमोजिम नगरेमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३ को उपदफा (३) वा (४) बमोजिम जरिबाना गर्ने तथा उम्मेदवारी रद्द गर्ने कारबाही किन नगर्ने भनी स्पष्टीकरण सोधी कारबाहीको लागि सिफारिस साथ आयोगमा लेखी पठाउन निर्देशन दिइएको छ,’ आयोगले भनेको छ।

असोज २८, २०७९ शुक्रबार ०४:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।