
नदुखेको दाँत निकालेपछि प्रहरीमा उजुरी, पक्राउ परे नक्कली डाक्टर

सुर्खेत : वीरेन्द्रनगरमा नक्कली चिकित्सक पक्राउ गरेका छन्।
चिकित्सक बनेर बिरामीको उपचारसमेत गरेका समाज डेन्टल केयर क्लिनिकका सञ्चालक २२ वर्षीय डिलबहादुर महातारालाई प्रहरीले पक्राउ गरेको छ।
अत्याधिक दाँत दुखेपछि उपचारका लागि क्लिनिक पुगेकी एक महिलाको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक पदमबहादुर विष्टले जानकारी दिए।
उपचारका लागि क्लिनिक गएकी महिलालाई महताराले दुखेको दाँत निकाल्ने सुझाव दिए। महिला पनि राजी भइन्। तर, महताराले दुखेकाे मात्र हाेइन, नदुखेको दाँत पनि निकालेपछि महिलाले उजुरी गरेको प्रहरी उपरीक्षक विष्टले बताए।
जाजरकोट शिवालय गाउँपालिका घर भएका महताराले डेन्टिससम्बन्धी अध्ययन नगरेको प्रहरी अनुसन्धानमा पाइएको छ। प्रारम्भिक बयानमै उनले आफू चिकित्सक नभएको स्वीकार गरेको विष्टले जानकारी दिए।
अभियुक्तलाई इलाजसम्बन्धी कसुरमा मुद्दा चलाउने तयारी भइरहेको छ।
असोज २७, २०७९ बिहीबार २०:२१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।