रुपन्देही–५मा घिमिरेलाई जिताउने जिम्मा भट्टराईको, पाए निर्वाचन परिचालन कमिटीको नेतृत्त्व

रुपन्देही–५मा घिमिरेलाई जिताउने जिम्मा भट्टराईको, पाए निर्वाचन परिचालन कमिटीको नेतृत्त्व

बुटवल : रुपन्देही क्षेत्र नं. ५ मा एमाले निर्वाचन परिचालन कमिटीको नेतृत्त्व पार्टी पोलिटब्यूरो सदस्य खिमलाल भट्टराईले लिएका छन्।

प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि पार्टी क्षेत्रीय समन्वय कमिटीको बिहीबार गैडहवाको सूर्यपुरामा भएको अगुवा कार्यकर्ता भेलाले पोलिटब्यूरो सदस्य भट्टराईको संयोजकत्वमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरेको हो।

भेलाले पार्टीका तर्फबाट प्रतिनिधि सभाका उम्मेदवार बासुदेव घिमिरे तथा प्रदेश सभाका उम्मेदवारद्वय भूमिश्वर ढकाल र रामचन्द्र यादवलाई जिताउन सिङ्गो पार्टीपंक्ति एकताबद्ध भएर जनतामाझ जाने निर्णय गरेको छ।

भेलालाई सम्बोधन गर्दै पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले पार्टीका उम्मेदवारलाई जिताउन आ–आफ्नो ठाउँबाट सशक्त भूमिका निर्वाह गर्न कार्यकर्ताहरूलाई निर्देशन दिए। उम्मेदवारी चयनका सन्दर्भमा देखापरेको समस्याको उचित समयमा समीक्षा हुने उनले बताए।

प्रतिनिधि सभा सदस्यका उम्मेदवार बासुदेव घिमिरेले विगतमा आफू नगर प्रमुख हुँदा तिलोत्तमा नगरपालिकालाई मुलुककैं उत्कृष्ट नगरपालिका बनाएको स्मरण गर्दै विकासको धेरै सम्भावना बोकेको क्षेत्र नं. ५ लाई पनि उत्कृष्ट र विकासको नमूना बनाउने प्रतिबद्धता व्यक्त गरे।

एमालेको तर्फबाट रुपन्देही ५ मा भट्टराई र घिमिरेको मनाेनयन दर्ता भएपछि निर्वाचन आयोगले पहिला उम्मेदवारी दिएको आधारमा घिमिरेको मनोनयनलाई सदर गरेको थियो।

असोज २७, २०७९ बिहीबार २०:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।