क्लब प्लाटिनमका दुई बाउन्सरलाई खुकुरी हान्ने ८ जना पक्राउ

काठमाडौं : सोह्रखुट्टेमा बाउन्सरमाथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका आठ जनालाई प्रहरीले सार्वजनिक गरेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले पत्रकार सम्मेलन गरी गत असोज २५ गते काठमाडौंको सोह्रखुट्टेमा क्लब प्लाटिनमका दुई बाउन्सरमाथि खुकुरी प्रहार गर्ने ८ जनालाई ज्यान मार्ने उद्योग गर्न नहुने कसुरमा पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको हो।
काठमाडौं महानगरपालिका–२६ गल्कोपाखास्थित हनुमान चोकनजिकै एक समूहले दुईजना पुरूषलाई धारिलो हतियार, इँटा, बियर बोतल लगायतले प्रहार गरी गम्भीर घाइते बनाएर फरार भएका थिए।
फरार भएका ८ जनालाई काठमाडौं प्रहरीको अनुसन्धानमा प्रक्राउ गरी सार्वजनिक गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)भरत बोहराले बताए।
पक्राउ पर्नेहरूमा काठमाडौंको गोकर्णेश्वर बस्ने जीवन तामाङ, दोर्जे शेर्पा, विनोद तामाङ, विकास श्रेष्ठ, राजेन्द्र खत्री, प्रदीप तामाङ र दीपेन लामा रहेका छन्।
मोटरसाइकल भाडामा दिने चाबहिल बस्ने २६ वर्षीय करण डंगोललाई पनि पक्राउ गरिएको छ।
उनीहरूको साथबाट ३ थान खुकुरी, दुई थान मोटरसाइकल, घटना स्थलमा फेला परेका ईंट्टाको टुक्रा र च्यातिएर रक्तामे भएका कपडालगायत सामग्री बरामद भएको बताए।
उनीहरूविरुद्ध ज्यान मार्ने उद्योग गर्न नहुने कसूरमा सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौं अदालतले अनुमति दिएको छ।
असोज २७, २०७९ बिहीबार १७:२९:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।