विजय गच्छदार, सरिता गिरी र प्रभु शाहसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

विजय गच्छदार, सरिता गिरी र प्रभु शाहसहित ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्चमा रिट

काठमाडौं : आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार बनेका ९ जनाको उम्मेदवारी खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ।

अधिवक्ता अनिल आचार्यले विजयकुमार गच्छदार, गोविन्दराज जोशी, विक्रम पाण्डे, प्रभु साह, सरिता गिरी, डीबी तामाङ भन्ने युद्धबिक्रम तामाङ, लक्ष्मी महतो र गगन भन्ने रेवतराज पुरीको उम्मेदवारी खारेजीको माग गर्दै रिट दर्ता भएको हो।

भ्रष्ट्राचार, ज्यान मार्ने उद्योग, हत्या, विवादित अभिव्यक्ति, सरकारी जग्गा हिनामिनासम्बन्धी मुद्दा खेपिरहेकाहरूलाई उम्मेदवार खारेज नगरिएकाे भन्दै अधिवक्ता आचार्यले रिट दर्ता गरेका हुन्।

कानुनले स्वच्छ छवि र उच्च नैतिक चरित्र भएको व्यक्तिलाई उम्मेदवार बनाउने परिकल्पना गरे पनि ऐनको प्रावधानले विभिन्न मुद्दाका आरोपित पनि उम्मेदवार बन्न छुट दिएको भन्दै रिटमा संशोधनको माग गरिएको छ।

यो रिटमा असोज ३० गते सुनुवाइका लागि पेशी तोकिएको छ।

असोज २७, २०७९ बिहीबार १६:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।