लुम्बिनीको शान्तिदीपबाट ओलम्पिक टर्च लिएर पोखरातर्फ गए खेलाडीहरू

लुम्बिनीको शान्तिदीपबाट ओलम्पिक टर्च लिएर पोखरातर्फ गए खेलाडीहरू

बुटवल: नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ओलम्पियन खेलाडीहरूले लुम्बिनीबाट ओलम्पिक टर्च र्याली लिएर बिहीबार पोखरातर्फ गएका छन्।

लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले ओलम्पियक टर्च र्यालीका संयोजक उमेश मास्केलाई शान्तिदीपबाट टर्च बालेर हस्तान्तरण गरेका हुन्। मास्केको संयोजकत्वमा राष्ट्रिय खेलकुद प्रतियोगितामा भाग लिने ७ सदस्यीय टोलीले शान्तिदीपबाट टर्च लिएर शुक्रबार पोखरा पुग्नेछ।

खेलाडीहरूले बिहीबार बिहान शान्तिदीपबाट टर्च लिएर लुम्बिनी मायादेवी मन्दिर परिसर परिक्रमा गरी पोखरातर्फ गएका हुन्। लुम्बिनी विकास कोषका तर्फबाट खेलाडीहरूलाई स्वागत गरिएको थियो।

कोषका सदस्य सचिव शाक्यले खेलाडीहरूलाई सफलताको शुभकामना समेत दिएका थिए। नेपाल खोखो संघका महासचिव समेत रहेका सदस्य सचिव शाक्यले लुम्बिनीको पवित्रभूमि शान्तिदीपबाट लिएर गएको टर्चले नवौं राष्ट्रिय खेलकुदमा सहभागी खेलाडीहरूमा उत्साह थपिने बताए।

र्यालीका संयोजक उमेश मास्केले लुम्बिनी शान्तिदीपबाट लगिएको टर्च पोखराका ओलम्पियनहरूमाझ पुर्याएर ऊर्जा थप्ने विश्वास लिए।

खेलाडीहरूलाई लुम्बिनी विकास कोषका सदस्य सचिव शाक्य, प्रमुख प्रशासकीय अधिकृत ज्ञानिन राई, पुुरातत्व शाखा प्रमुख हिमाल उप्रेती, लुम्बिनीका पर्यटन व्यवसायीहरूले खादा लगाएर शुभकामना दिएका थिए। 

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत गण्डकी प्रदेशका विभिन्न ठाउँमा विधागत खेलहरू भइरहेका छन्।

असोज २७, २०७९ बिहीबार ११:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।