पर्सामा लक्ष्मणलाल कर्णसहित गठबन्धनका थुप्रै उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने

पर्सामा लक्ष्मणलाल कर्णसहित गठबन्धनका थुप्रै उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने

काठमाडौं: मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पर्साका केही उम्मेदवारले आफैँलाई मत हाल्न नपाउने भएका छन्।आफू उम्मेदवार बनेको निर्वाचन क्षेत्रमा मतदाता नामावलीमा नाम नभएका कारण उनीहरूले मत हाल्न नपाउने भएका हुन्।

चार प्रतिनिधि सभा र आठ प्रदेश सभा क्षेत्र रहेको पर्सामा निर्वाचन क्षेत्र नम्बर १ मा सत्ता गठबन्धनबाट प्रतिनिधि सभा सदस्यतर्फ उम्मेदवारी दिएका लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता लक्ष्मणलाल कर्णले यसपटक आफैँलाई मत हाल्न नपाउने भएका छन्।

उनी क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–२ जानकी टोलका मतदाता हुन्।

यसैगरी पर्सा क्षेत्र नम्बर १ को प्रदेश सभा (ख) मा सत्ता गठबन्धनका उम्मेदवार कांग्रेसका रामनारायण कुर्मीले पनि आफैँलाई मत हाल्न नपाउने भएका छन्। उनको नाम मतदाता नामावलीमा क्षेत्र नम्बर १ मा पर्ने वीरगञ्ज महानगरपालिका–१४ पिपरामा रहेको छ।

यस्तै, पर्सा क्षेत्र नम्बर २ प्रदेश सभा (क) मा सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएका कांग्रेसका उम्मेदवार श्याम पटेलले पनि आफैँलाई मत हाल्न नपाउने अवस्था छ। पटेलको मतदाता नामावली क्षेत्र नम्बर प्रदेश सभा २ (ख) मा पर्ने बहुदरमाई नगरपालिका–२ ध्यानसिंह पिपरामा छ।

त्यस्तै, सत्ता गठबन्धनकै तर्फबाट पर्सा क्षेत्र नम्बर ३ प्रदेश सभा (क) मा उम्मेदवारी दिएका माओवादी केन्द्रका उम्मेदवार छोटेलाल यादवले पनि आफूलाई भोट हाल्न पाउने छैनन्। उनको मतदाता नामावली क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) मा पर्ने बिन्दवासिनी गाउँपालिका–५ हासवाकामा छ।

क्षेत्र नम्बर ३ प्रदेश सभा (ख) मा उम्मेदवारी दिएका कांग्रेस पर्साका सभापति जनार्दनसिंह क्षेत्री र एकीकृत समाजवादीका प्रहलाल गिरीले पनि आफूलाई भोट हाल्न नपाउने भएका छन्।

क्षेत्रीको मतदाता नामावली क्षेत्र नम्बर ४ को जगरनाथपुर गाउँपालिका–६ का मा छ भने र गिरीको मतदाता नामावली वडा नम्बर ५ रहेको छ।

क्षेत्र नम्बर ४ प्रदेश सभा (ख) मा सत्ता गठबन्धनकै तर्फबाट उम्मेदवारी दिएकी माओवादी केन्द्रकी चाँदतारा कुमारीले पनि आफैँलाई मत दिन नपाउने अवस्था छ। उनको मतदाता नामावली क्षेत्र नम्बर १ प्रदेश सभा (ख) मा पर्ने वीरगञ्ज महानगरपालिका–४ मा छ।

असोज २७, २०७९ बिहीबार १०:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।