नवौं राष्ट्रिय खेलकुद: आजदेखि सुरु हुने खेलमा गण्डकी र सुदूरपश्चिम भिड्ने

नवौं राष्ट्रिय खेलकुद: आजदेखि सुरु हुने खेलमा गण्डकी र सुदूरपश्चिम भिड्ने

पोखरा: गण्डकी प्रदेशमा जारी नवौं राष्ट्रिय खेलकुदअन्तर्गत आज बिहीबारदेखि महिला भलिबल प्रतियोगिता सुरु हुँदैछ। म्याग्दीको बेनीमा दिउँसो २ बजेदेखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा गण्डकी र सुदूरपश्चिम प्रदेशबीच खेल हुनेछ।

जिल्ला खेलकुद विकास समिति म्याग्दीका अध्यक्ष दिनेश केसीका अनुसार 'लिग कम नक आउट'मा खेलाइने प्रतियोगिताका लागि सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ।

सात प्रदेशसहित नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेको जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाँले जानकारी दिए।

समूह १ र २ मा तीन/तीन र समूह ३ र ४ मा २/२ वटा टिम रहेका छन्। पाँच दिनसम्म चल्ने प्रतियोगितामा कुल १६ खेल हुनेछन्।

महिला भलिबलसँगै शुक्रबारदेखि म्याग्दीमा तेक्वान्दोका खेलहरू समेत सुरु हुँदैछन्। प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापक ११ टिमका ६१७ जना म्याग्दी जाँदै छन्।

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकीका विभिन्न जिल्लामा २६ खेल संचालन भइरहेका छन्।

असोज २७, २०७९ बिहीबार १०:३१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।