कांग्रेसका बागी उम्मेदवार, प्रस्तावक र समर्थक पाँच वर्षका लागि पार्टीको सदस्य समेत नरहने गरी निष्काशित

काठमाडौं: नेपाली कांग्रेसले बागी उम्मेदवारहरूलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको छ। आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टी र गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवार र तिनका प्रस्तावक तथा समर्थकलाई पाँच वर्षका लागि पार्टीबाट निष्काशित गरेको हो।
कांग्रेसले सत्ता गठबन्धन दल र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीबीच भएको सहमतिअनुरूप कांग्रेसका आधिकारिक उम्मेदवार, सत्ता गठबन्धन दल र मधेश प्रदेशमा लोकतान्त्रिक समाजवादी पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवारलाई पार्टी विधानबमोजिम कारवाही गरेको हो।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी तोकिएको मिति र समयभित्र आफ्नो उम्मेदवारी फिर्ता नलिएका बागी उम्मेदवार, तिनका प्रस्तावक र समर्थकलाई पार्टीको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निष्काशन गरिएको जानकारी गराएका छन्।
असोज २६, २०७९ बुधबार २१:१४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।