पूर्वाग्रही भएको भन्दै रुपन्देही- २ का निर्वाचन अधिकृत परिवर्तन गर्न सत्ता गठबन्धनको माग

पूर्वाग्रही भएको भन्दै रुपन्देही- २ का निर्वाचन अधिकृत परिवर्तन गर्न सत्ता गठबन्धनको माग

बुटवल: सत्ता गठबन्धनमा आबद्ध दलहरूले रुपन्देही क्षेत्र नम्बर २ का निर्वाचन अधिकृतलाई परिवर्तन गरी उनको ठाउँमा अन्य अधिकृत खटाउन माग गरेका छन्। क्षेत्र नम्बर २ का निर्वाचन अधिकृत उदवीर नेपालीले राजनीतिक पूर्वाग्रहसहित कतिपय निर्णय गरेको पाइएको भन्दै गठबन्धनमा आबद्ध दलहरूले नेपालीलाई हटाउन माग गरेका हुन्।

बुधबार रुपन्देहीका मुख्य निर्वाचन अधिकृत कृष्णराम कोइरालामार्फत् निर्वाचन आयोगलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसका क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति पर्शुराम ढकाल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य गोविन्द केसी, नेकपा एकीकृत समाजवादीका नेता चीनबहादुर गुरुङ, जनमोर्चा नेपालका पदम श्रेष्ठ र नेपाल समाजवादी पार्टीका केन्द्रिय सदस्य हरि घर्तीमगरले नेपालीलाई तत्काल हटाउन माग गरेका हुन्।

उनीहरूले अदालतमा मुद्दा विचारधीन रहेको पत्र अदालतले निर्वाचन आयोगलाई पठाउँदा समेत त्यसको बेवास्ता गरी क्षेत्र नम्बर २ का उम्मेदवार राजु गुरुङको उम्मेदवारी रद्द गरिएको जनाएका छन्।

यस्तै, दलहरूले हाम्रो नेपाली पार्टीका उम्मेदवार कमल भुसाल (निकोलस) ले पुरस्कार पाएबापत भनेर उम्मेदवारी रद्द गरिएकाले त्यो पनि गैरकानूनी भएको जनाएका छन्।

असोज २६, २०७९ बुधबार २०:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।