केन्द्रीय सुरक्षा समिति बैठक: आचारसंहिता पालना गराउन र सुरक्षा चुनौती पहिल्याएर अगाडि बढ्न गृहमन्त्रीको निर्देशन

केन्द्रीय सुरक्षा समिति बैठक: आचारसंहिता पालना गराउन र सुरक्षा चुनौती पहिल्याएर अगाडि बढ्न गृहमन्त्रीको निर्देशन

काठमाडौं: बुधबार दिउँसो गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
बैठकमा कर्णाली र सुदूरपश्चिमका केही जिल्ला तथा बाँके, बर्दिया र दाङमा बाढी पहिरोले पुर्याएको क्षति र आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनबारे छलफल भएको छ। 

बैठकमा गृहमन्त्री खाँणले हुम्ला, जुम्ला, मुगु र कालिकोटमा बाढी र पहिरोले पुर्याएको धनजनको क्षतिको स्थलगत अवलोकन गरी रिपोर्ट पेस गर्न गृह मन्त्रालय, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका अधिकारी रहेको टोली बनाउन निर्देशन दिए।

सो टोलीको समन्वय गर्न प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेललाई जिम्मेवारी दिइएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

सरकारले तत्कालका लागि उपलब्ध गराउनु पर्ने राहत उपलब्ध गराइरहेको र दीर्घकालीन समाधानका लागि टोलीको रिपोर्ट आएपछि रणनीति बनाएर अगाडि बढ्ने गृहमन्त्री खाँणले बताए।

त्यस्तै बैठकमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन स्वच्छ, निष्पक्ष, धाँधलीरहित तरिकाले सम्पन्न गर्ने विषयमा पनि छलफल भएको थियो। बैठकमा निर्वाचनका चुनौतीबारे सुरक्षा निकायका प्रमुखहरूले अन्य सदस्यहरूलाई जानकारी गराएका थिए।

कहाँ कहाँ के-कस्ता सुरक्षा चुनौती छन् र ती चुनौतीलाई समाधान गर्न के गर्नुपर्छ भन्नेबारे प्रदेशस्तरीय सुरक्षा गोष्ठी गर्ने प्रस्ताव बैठकमा गृहमन्त्रालयको सुरक्षा समन्वय महाशाखाले पेस गरेको थियो।

गृहमन्त्री खाँणले निर्वाचन आयोगले तयार पारेको निर्वाचन आचारसंहिता पूर्णरूपमा पालना गराउन सम्पूर्ण गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन पनि दिए।

मन्त्रालय र चार वटै सुरक्षा निकायका प्रतिनिधिसहितको टोलीले निर्वाचन विशेष सुरक्षा योजना तयार पारेर जिल्ला जिल्लामा पठाएको छ। त्यसैका आधारमा सुरक्षा निकाय र जिल्ला प्रशासन कार्यालयहरूले निर्वाचनको तयारी गरिरहेका छन्। मन्त्री खाँणले सुरक्षा चुनौती पहिल्याएर अगाडि बढ्न पनि सुरक्षा निकायलाई निर्देशन दिए।

गृहमन्त्रीको अध्यक्षतामा हुने सुरक्षा समितिमा गृहसचिव, रक्षासचिव, सेनाका रथी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सदस्य हुन्छन्।

असोज २६, २०७९ बुधबार १९:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।