बाँकेमा जीप दुर्घटना: चालकको मृत्यु, तीन यात्रु घाइते

बाँके: राप्तीसोनारी गाउँपालिका–२ झुरिखोलामा आज जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। जीपमा रहेका तीन यात्रु घाइते भएका छन्।
दुर्घटनामा सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–४ का ५५ वर्षीय कृष्णप्रसाद खतिवडाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ। पूर्व–पश्चिम राजमार्गअन्तर्गत काठमाडौंतर्फ जाँदै गरेको जीप अनियन्त्रित भएर पल्टिँदा चालकसहित चार जना घाइते भएका थिए।
घाइते सबैलाई उपचारका लागि मेडिकल कलेज कोहलपुरमा लैजाने क्रममा चालकको मृत्यु भएको हो। घाइतेमध्ये वीरेन्द्रनगर नगरपालिका– ७ का २२ वर्षीय शिशिर ज्ञवालीको अवस्था गम्भीर रहेको छ भने अन्य दुई जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ।
असोज २६, २०७९ बुधबार १८:४२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।