चितवनमा बागी बनेका कांग्रेस केन्द्रीय सदस्यलाई एमालेको समर्थन

चितवनमा बागी बनेका कांग्रेस केन्द्रीय सदस्यलाई एमालेको समर्थन

काठमाडौं : माओवादी केन्द्रका लागि पटक-पटक टिकट खोसिएपछि बागी बनेका कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाको उम्मेदवारीलाई एमालेले साथ दिएको छ।

स्थानीय तह निर्वाचनमा उनी भरतपुर महानगरपालिकाको मेयरको आकांक्षी थिए। तर माओवादीको भागमा पर्यो। सङ्घ र प्रदेश निर्वाचनमा चितवन–३ छाडेर माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखा-२ गए। तर चितवन-३ माओवादीकै भागमा राखे।

१४ औँ महाधिवेशनमा शेखर समूहबाट केन्द्रीय सदस्य बनेका कोइरालाले पार्टीबाट बागी बन्दै स्वतन्त्र उम्मेदवारी दिए।

बुधवार उनको उम्मेदवारी फिर्ता गराउन केन्द्रीय तहका नेताहरूले प्रयास गरे पनि उनले फिर्ता लिएनन्। बरु एमाले उम्मेदवारले उनलाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिए। उनलाई निर्वाचन आयोगले माछा चुनाव चिन्ह दिएको छ।

स्थानीय तह निर्वाचनमै भरतपुर मेयर बागी उम्मेदवार बनेका कांग्रेस नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। उनले सूर्यमुखी फूल चिन्ह पाए।

चितवन-१ मा आफ्नै पार्टीका उम्मेदवार विरुद्ध बागी परेको छ। विश्व पौडेलले टिकट पाएपछि कांग्रेस नेता राजेन्द्र बुर्लाकोटी स्वतन्त्र उम्मेदवार बने। उनले पनि माछा चिह्न नै पाएका छन्।

असोज २६, २०७९ बुधबार १७:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।