डा. निकोलसको चलाखी काम लागेन, खारेज भयो उम्मेदवारी, तोसिमाबारे निर्णय आएन

डा. निकोलसको चलाखी काम लागेन, खारेज भयो उम्मेदवारी, तोसिमाबारे निर्णय आएन

काठमाडौं : सरकारी लाभ लिँदालिँदै निर्वाचनमा उम्मेदवार बन्न पुगेका कमल भुसाल (डा निकोलस) को उम्मेदवारी खारेज भएको छ।

उनी रुपन्देही क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यका लागि स्वतन्त्र उम्मेदवार बनेका थिए। उनी चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम)का विद्यार्थी हुन्।

चिकित्सा शास्त्र अध्ययन संस्थान (शिक्षण अस्पताल)मा एमडी तहमा अध्ययनरत विद्यार्थी रहेका उनले बिदामा बस्न निवेदन दिए पनि उम्मेदवारी दिनेबारे संस्थानलाई जानकारी गराएका थिएनन्।

‘हाम्रो रेजिन्टले हामीलाई त चुनाव लड्छु भनेको थिएन, बिदा लिएर चाहिँ गएको हो,’ स्रोतले भन्यो, ‘उहाँको विषयमा छलफल गर्नुपर्नेछ।’

नेपाल सरकारले उपलब्ध गराएको छात्रवृत्ति कोटामा चिकित्साशास्त्र अध्ययन गरिरहेकाले सरकारबाट आर्थिक लाभ लिइरहेको भन्दै उनी विरुद्ध उजुरी परेपछि जिल्ला निर्वाचन कार्यालयले रद्द गरिदियो।

ललितपुर क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दिएकी डा. तोसिमा कार्कीको उम्मेदवारीबारे भने आयोगले निर्णय गरिसकेको छैन।

उनी नेपाल मेडिकल काउन्सिलकी निर्वाचित सदस्य हुन्।  डा. कार्कीले काउन्सिलबाट राजीनामा नै नदिई राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएकी छन्।

असोज २६, २०७९ बुधबार ०८:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।