रुपन्देही–२ मा उम्मेदवारी दर्ता गराएका गुरुङ र केसीविरुद्ध उजुरी

बुटवल : सत्ता गठबन्धनबाट रुपन्देही–२ मा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दिएका दुई जनाविरुद्ध उजुरी दर्ता भएको छ।
दुवै जनाविरुद्ध बैंकिङ कसुरअन्तर्गत कालो सूचीमा नाम चढेको भन्दै उम्मेदवारी खारेजीको माग सहितको उजुरी परेको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले जनाएको छ।
रुपन्देही २ बाट प्रतिनिधि सभामा सत्ता गठबन्धनबाट उम्मेदवार भएका राजु गुरुङ र प्रदेश सभा अन्तर्गत रुपन्देही २ (क)बाट उम्मेदवारी दिएका दिर्घबहादुर केसी विरुद्ध कालोसूचीमा नाम चढेको उजुरी दर्ता भएको जिल्ला निर्वाचन कार्यालय रुपन्देहीले पुष्टि गरेको छ।
दुवै उम्मेदवारलाई उजुरीबारे सूचना गरिएको र समयसीमा भित्र कालोसूचीबाट नाम हटेको प्रमाण ल्याउन नसकेको अवस्थामा उम्मेदवारी खारेज हुने जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख अयोध्या प्रसाद भण्डारीले बताए।
भोली ५ बजे सम्ममा उम्मेदवारी रहने वा नरहने विषयमा टुंगो लाग्ने उनले बताए। अर्का उम्मेदवार हेमराज बस्यालका विरुद्ध पनि बैकिङ कसुरकै उजुरी परेको पनि उनले बताए।
असोज २५, २०७९ मंगलबार २१:५६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।