नवौं राष्ट्रिय खेलकुदमा महिला क्रिकेट : एपीएफ र सुदुर पश्चिम विजयी

पोखरा : गण्डकी प्रदेशमा आयोजित नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) र सुदुरपश्चि प्रदेश विजयी भएका छन्।
मंगलबार पोखरा रंगशालमा भएको पहिलो खेलमा एपीएफले बागमती प्रदेशलाई चार विकेटले पराजित गरेको हो। पहिलो ब्याटिङ गरेको बागमतीले पूरा २० ओभर खेल्दै ७ विकेटको क्षतिमा ८९ रन जोडेको थियो।
जवाफमा एपीएफले १९.१ ओभरमा ६ विकेट गुमाएर लक्ष्य भेट्टायो। एपीएफकी रोमा थापाले २२, ममता चौधरीले १७, सीता राना र नेरी थापाले समान १६ रन बनाए। बागमतीकी सोनी पाख्रिन र सुमन खतिवडाले समान दुई–दुई तथा अस्मिना कर्माचार्यले एक विकेट लिइन्।
त्यसअघि ब्याटिङ गरेको बागमतीकी अस्मिना कर्माचार्यको अविजित १९ तथा सुमन खतिवडाको १९ रनको पारी खेलेका थिए। एपीएफकी रेखा रावल, नेरी थापा र इन्दु बर्माले समान एक–एक विकेट चट्काए। खेलमा एपीएफकी नेरी थापा प्लेयर अफ द म्याच भइन् ।
दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशले घरेलु टोली गण्डकी प्रदेशलाई ६ विकेटले पराजित गर्यो।
पहिले ब्याटिङ गरेको गण्डकीले पूरा २० ओभर खेल्दै ५ विकेटको क्षतिमा ५९ रन बनायो। गण्डकीका लागि श्रृष्टि जैशीले २८ रन बनाउनबाहेक अन्य खेलाडीले राम्रो प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ रितु कनौजियाले दुई तथा अनु कडायत, स्नेहा महरा र सावित्री धामिले समान एक–एक विकेट लिए।
जितका लागि ६० रनको लक्ष्य सहित मैदान उत्रिएको सुदूरपश्चिमले १०.२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य भेट्टायो। उसका लागि रितु कनौजियाले २२ र स्नेहा महरा २१ रन बनाइन्। गण्डकीका बलरहरू शिला क्षेत्रीले दुई र श्रृष्टि जैशीले एक विकेट लिइन्। खेलमा सुदुर पश्चिमकी रितु कनौजिया प्लेयर अफ द म्याच भइन्।
असोज २५, २०७९ मंगलबार १९:५८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।