तिहार नजिकिएसँगै ३ लाख २७ हजार रूपैयाँको अवैध पटाका बरामद

तिहार नजिकिएसँगै ३ लाख २७ हजार रूपैयाँको अवैध पटाका बरामद

काठमाडौं : तिहार नजिकिएसँगै मोरङ र झापामा करिब ३ लाख २७ हजार रुपैयाँको अवैधा पटाका प्रहरीले बरामद गरेको छ।

मोरङको रंगेली नगरपालिका–९ दर्बेसाबाट करिब १ लाख ५० हजार रूपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका ३ हजार प्याकेट सहित सुनवर्षी नगरपालिका–८ हस्नगडी बस्ने ३० वर्षीय जितेन्द्र राजवंशीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीले प्र १–०२–००२ ह ८७८९ नम्बरको अटोलाई जाँच गर्ने क्रममा उक्त पटाका सहित राजवंशीलाई पक्राउ गरिएको हो।

यस्तै, मोरङकै रंगेली नगरपालिका–४ चोप्राहास्थित धाधरी खोलाको बगरबाट करिब १ लाख २२ हजार २ सय रूपैयाँ बराबरको किङ कोबरा नामक अवैध पटाका २ हजार ४ सय ४४ प्याकेट मंगलबार बिहान प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीलाई भारतबाट नेपालतर्फ आउँदै गरेका ४ जनाले देख्नासाथ सामान छोडी फरार भएपश्चात ४ वटा बोरामा रहेको उक्त पटाका प्रहरीले बरामद गरेको हो।

त्यसैगरी, झापाको कचनकवल गाउँपालिका–६ बनियानी चौकबाट करिब ५० हजार रुपैयाँ बराबरको पटाका मंगलबार बिहान प्रहरीले बरामद गरेको छ।

ईलाका प्रहरी कार्यालय बनियानीबाट खटिएको प्रहरीले बनियानिबाट विर्तामोडतर्फ आउँदै गरेको मे १ ख  ३०९० नम्बरको बसलाई जाँच गर्ने क्रममा उक्त पटाका फेला पारी बरामद गरेको हो।

असोज २५, २०७९ मंगलबार १७:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।