सागर ढकालले पावर प्लान्टकाे अनुसन्धानका लागि सरकारबाट ९० लाख रूपैयाँ लिएको खुलासा

सागर ढकालले पावर प्लान्टकाे अनुसन्धानका लागि सरकारबाट ९० लाख रूपैयाँ लिएको खुलासा

काठमाडौं : डडेल्धुराबाट स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालले सरकारबाट पावर प्लान्टका लागि भन्दै ९० लाख रुपैयाँ लिएको खुलासा भएको छ।

उकेरालाई प्राप्त कागजातमा ऊर्जा मन्त्रालयको सिफारिसमा अर्थ मन्त्रालयलाई ढकाल नेतृत्त्वको पावर प्लान्टका लागि ९० लाख रूपैयाँ लिएको खुलासा भएको हो।

२०७३ जेठ ५ गते ऊर्जा मन्त्रालयले ग्राभिटेसनल भर्टेक्स पावर प्लान्ट विकासका लागि ढकालले ९० लाख रुपैयाँ मागेको र यो योजना विद्यार्थीको अनुसन्धानका लागि आवश्यक रहेको भन्दै रकमको व्यवस्था गरिदिन अर्थ मन्त्रालयलाई सिफारिस गरेको थियो।

यो सिफारिसका लागि जेठ ४ गते मन्त्रालयमा सचिवस्तरीय बैठक बसेको थियो। उक्त बैठकले रकमको व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्ने निर्णय गरेको थियो।

सिफारिस पत्रमा उल्लेख भएअनुसार सिफारिसको साथमा सचिवस्तरीय निर्णयको प्रतिलिपि, इन्जिनियर सागर ढकाल तथा बलबहादुर कामीबाट पेश भएको निवेदनको प्रतिलिपि र ग्राभिटेशनल वाटर भर्टेक्स पावर प्लान्टको जलविद्युत् जडानमाथि गरिएको अध्ययनको एक प्रति उपलब्ध गराइएको थियो।

अर्थ मन्त्रालयको बजेट तथा कार्यक्रम शाखाले सोही सिफारिसमा आधारमा महालेखा नियन्त्रकको कार्यालयलाई पत्र लेखी रकमान्तर गरी ९० लाख रुपैयाँ निकासा गरेको छ। यसको बोधार्थ महालेखा परीक्षाको कार्यालय र ऊर्जा मन्त्रायलाई समेत गराइएको थियो।

यस विषयमा कुरा गर्दा सागर ढकालले रकम लिएको स्वीकारे। आफूहरूले अनुसन्धानको लागि रकम लिएको र सरकारले पुल्चोक क्याम्पसको टिमलाई विश्वास गरेकाेमा धन्यवादसमेत दिए।

‘म पुल्चोक क्याम्पसमा ब्याचलर पढ्दा जलविद्युत्को विषयमा अनुसन्धानको लागि रकम आवश्यक परेपछि क्याम्पससँगकै समन्वयमा हामीले रकमका लागि ऊर्जा मन्त्रालयमा पत्र लेखेका थियौं,’ उनले उकेरासँग भने, ‘रकम विनियाेजन भएर अनुसन्धानको पहिलो चरण सकिइसकेकाे छ।'

दाेस्राे चरणकाे अनुसन्धान अगावै आफू थप अध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालय गएकाे र अर्काे वर्ष बजेट पनि नआएकाे उनकाे भनाइ छ।

असोज २५, २०७९ मंगलबार ११:४७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।