पहिरो, बाढी तथा अविरल वर्षाको कारण एकै दिन १६ जनाको मृत्यु

काठमाडौं : विभिन्न जिल्लामा आएको बाढीको पहिरोर र अविरल वर्षाका कारण एकै दिन १६ जनाको मृत्यु भएको छ।
मुगुको छाँयानाथ रारा नगरपालिका-११ सालिम बस्तीमा सोमबार बिहान पहिरो जाँदा पहिरोमा पुरिएर ८ जनाको मृत्यु भएको छ।
पहिरो जाँदा घरहरू पुरिएको भन्ने खबर प्राप्त हुनासाथ नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबाट संयुक्त रूपमा खटिएको टोलीले ८ जनाको शव तथा अन्य ५ जनालाई घाइते अवस्थामा फेला पारेको हो।
हुम्लाको चंखेली गाउँपालिका-६ मेल्छाम डुमबाडा बस्ने मनबिर बिकको घरमा आइतबार साँझ पहिरो जाँदा घर भत्किएर ६० वर्षीया तुलसा कामी समेत ४ जनाको मृत्यु भएको छ।
उनको घर पहिरोले पुरिएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी मेल्छामबाट खटिएको प्रहरीले तुलसा समेत ४ जनाको शव फेला पारेको हो। साथै पहिरोमा पुररिएर १ जना गम्भीर घाइते भएका छन्।
कालिकोटको सान्नीत्रिवेणी गाउँपालिका-८ मुम्रा डालुके बस्ने जस बहादुर खत्रीको छोरा १४ वर्षीय कबुल केसीको पहिरोमा परेर आइतबार दिउँसो मृत्यु भएको छ।
बाटोमा हिँडिरहेको अवस्थामा एक्कासि माथिबाट पहिरो आई च्यापिएर गम्भीर घाइते भएका उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको हो। साथै पहिरोमा परेर सोही ठाउँ बस्ने २४ वर्षीया सोबिता सहकारी र २४ वर्षीया कल्पना बुढा घाइते भएका छन्।
यसैगरी कालिकोटको तिलागुफा नगरपालिका-७ बालीगाउँ बस्ने धुर्वराज बिष्टको २ वटा घर र सोही ठाउँ बस्ने उपेन्द्र बिष्टको १ वटा घरमा आइतबार बिहान पहिरो गई भत्किँदा २ जनाको शव फेला परेको छ भने अन्य ४ जना बेपत्ता भएका छन्। प्रहरी चौकी छाप्रेबाट खटिएको प्रहरीले बेपत्ता भएकाहरूको खोजी गरिरहेको छ।
यसैगरी कालिकोटको तिलागुफा नगरपालिका-१ पुलचोक भन्ने स्थानमा हिमा नदीमा आएको बाढीले शुभकालिका गाउँपालिका-८ घर भई नाग्म बजारमा होटल पसल गरी बस्ने ४६ वर्षीय उदय बहादुर शाहीको ४ तले घर बाढीले बगाएर पूर्णरूपमा क्षति भएक छ। साथै सोही ठाउँस्थित जुम्ला र मुगु जाने सडक समेत पूर्णरूपमा अवरोध भएको छ।
बाजुराको जगन्नाथ गाउँपालिका-१ ढाडाकोट डिमुरगाउँ बस्ने ४५ वर्षीय प्रभुलाल गिरीको अबिरल बर्षातको कारण घर भत्किँदा गिरीको घटनास्थलमै मृत्यु भएको छ। साथै पहिरोको कारण सोही ठाउँ बस्ने रघु गिरिको कपुर गिरिको जय गिरी र परी गिरीको घर पूर्णरूपमा क्षति भएको छ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका-११ जोगिमारे गाँउमा आइतबार बिहान पहिरो जाँदा ६ वटा घर पूर्ण रुपमा क्षति भएको छ भने १८ घर जोखिममा रहेका छन्।
दाङको घोराही उपमहानगरपालिका-१६ शिब शक्ति टोल बस्ने ४९ वर्षीय छोटीलाल चौधरीको घर अविरल वर्षाका कारण आइतबार साँझ भत्किँदा करिब ३ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।
नजिकैको प्रहरी कार्यालयबाट तत्काल घटनास्थलमा खटिएको प्रहरीले आवश्यक उद्दार कार्य गरिरहेको छ।
असोज २४, २०७९ सोमबार २०:१२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।