लोसपालाई ८ सिटमा मनाउँदै कांग्रेसले आफ्नो भागमा पार्‍यो ९० सिट

लोसपालाई ८ सिटमा मनाउँदै कांग्रेसले आफ्नो भागमा पार्‍यो ९० सिट

काठमाडौं :  लोकतान्त्रिक समाजवादी पार्टीसँग सहमति गर्ने सर्तमा ९८ सिट लिएको कांग्रेसले आफ्नो भागमा ९० सिट पारेको छ।

शनिवार दिनभरको बैठकमा लोसपाका नेताहरू प्रतिनिधि सभामा ८ र प्रदेश सभामा १६ सिटमा सहमत भएका हुन्।

लोसपा नेता लक्ष्मणलाल कर्णले सङ्ख्या टुङ्गिएको तर क्षेत्र टुङ्गिन बाँकी रहेको बताए। रातभरमा क्षेत्र पनि टुङ्गिने र सहमति भएको सङ्ख्या अनुसार लोसपालाई रोजी र कांग्रेसलाई छाडि भएको उनले दाबी गरे।

'हामीले क्षेत्र रोजेपछि बाँकी सिटमा कांग्रेसले उम्मेदवार छान्न,' उनको दाबी छ।

गठबन्धनबाट जनता समाजवादी पार्टी बाहिरिएर एमालेसँग सहमति गरेपछि लोसपा गठबन्धन बैठकमा सहभागी भएको थियो। केपी ओलीले २ पटक संसद् विघटन गरेपछि त्यसलाई हेर्ने दृष्टिकोणमा विवाद हुँदा जसपा फुटेर लोसपा बनेको थियो।

लोसपाका महन्थ ठाकुरसहितका नेताहरू ओलीको कदमको पक्षमा र जसपामा रहेका उपेन्द्र यादवसहितका नेता ओलीको विपक्षमा थिए।

तर १६ सिटमा चित्त नबुझाएर जसपा एमालेसँग १७ सिट लिएर तालमेल गर्न गयो भने लोसपा ८ सिट लिएर ओलीको कदम प्रतिगमन भनिरहेको गठबन्धनसँग मिल्न आयो।

लोसपालाई मिलाउने गरी कांग्रेसले ९८ सिट राखेकोमा लोसपा ८ मा मान्दा कांग्रेसले आफ्नो पक्षमा ९० सिट पारेको छ।

असोज २२, २०७९ शनिबार २२:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।