ओलीमाथि घनश्यामको आरोप' पार्टी अपहरण गरेर हाम्रो कत्लेआम गरे'

ओलीमाथि घनश्यामको आरोप' पार्टी अपहरण गरेर हाम्रो कत्लेआम गरे'

काठमाडौं : प्रतिनिधि सभाको टिकट नपाएपछि एमाले छाडेको घोषणा गरेका नेता घनश्याम भुसालले अध्यक्ष केपी शर्मा ओलीले पार्टी अपहरण गरेको आरोप लगाएका छन्।

‘कमरेड ओलीसँग मेरो विचार सिद्धान्त, सङ्गठनात्मक सिद्धान्त, हाम्रो मुलुक भूराजनीति विषय लगायतमा फरक मत थियो।,' भुसालले भने' त्यसलाई उहाँले व्यक्तिगत ईर्ष्याको रूपमा लिनुभयो। मैले अन्तिमसम्म भने तर, मेरो कुरा सुनिएको भए मैले यस्तो निर्णय लिन पर्दैनथ्यो।’

उनले विचारको कुरा गर्दा सधैँ अपमानित हुनुपरेको, आफूले विचार बहस, छलफल गर्ने कुनै ठाउँ नपाएको र मूल्य हराउँदै गएको राजनीतिमा आफ्नो आलोचना हुनु स्वाभाविक रहेको बताए।

उनले १० बुँदेहरूले घुँडा टेक्नुपर्छ भन्ने अराजनीतिक प्रचार गराएर गलत गरिएको बताउँदै आफूहरूले पार्टीलाई विधि र विधान अनुसार चलाउनुपर्छ मात्र भनेको बताए।

दश बुँदे समूहकै दुई जना बाहेक अरू सबैले टिकट पाएकोबारे सञ्चारकर्मीको जिज्ञासामा उनले जसले १० बुँदेको स्पिरिट बोले उनीहरूलाई टिकट नदिइएको दाबी गरे।

'टिकट पाउनेहरूले दश बुँदेको स्पिरिट छाडे। अरूमाथि कत्लेआम गरियो' उनले भने' १० बुँदे भनेको १० भाइ मात्रै होइन। अरू पनि पार्टी सांसदहरू थिए। पढेलेखेका राम्रा थिए। उत्तिकै लागेका साथीहरू थिए। १० बुँदेको स्पिरिट छाड्नेहरूले टिकट पाए। हाम्रो कत्लेआम भयो।’

एमाले छाडेर माओवादी केन्द्रबाट उम्मेदवार बन्न लागेको बारे उनले सञ्चारकर्मीमाझ आगामी यात्राबारे टुङ्गो नलागेको बताए। उनले न माओवादीबाट उम्मेदवार बन्न लागेको स्विकारे न स्वतन्त्र उम्मेदवार बन्न लागेको नै स्विकारे। 

असोज २२, २०७९ शनिबार १८:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।