जुम्लामा पहिरोमा परेर सात जनाको मृत्यु, घाइतेको उद्धारका लागि हेलिकोप्टर जान सकेन

जुम्लामा पहिरोमा परेर सात जनाको मृत्यु, घाइतेको उद्धारका लागि हेलिकोप्टर जान सकेन
सांकेतिक तस्वीर

सुर्खेत : अविरल वर्षासँगै घरमाथिबाट खसेको पहिरोमा परेर जुम्लामा सात जनाको मृत्यु भएको छ।

जुम्ला सदरमुकाम खलङ्गादेखि उत्तर–पश्चिममा पर्ने कनकासुन्दरी गाउँपालिकाको बारेकोटडाँडास्थित घरमा खसेको पहिरोमा परेर दुई परिवारका सात जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा ५५ वर्षीय गणेशबहादुर शाही, २२ वर्षीय रमेशबहादुर शाही, २२ वर्षीय पानसरा शाही, अन्दाजी ९ वर्षीय अनमोल शाही, ६ वर्षीय मिलन शाही, २२ वर्षीय विद्या शाही र छिमेकी २४ वर्षीय सुरेन्द्र हमाल रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवम् एसएसपी माधव श्रेष्ठले जानकारी दिए।

पहिरोमा परेर ५० वर्षीय सरस्वती हमाल र उमेर नखुलेका रामबहादुर हमालको जीवितै उद्दार गरिएको छ। तर, सरस्वतीको अवस्था गम्भीर रहेको र उनीहरूको स्थानीय मेडिकल गोठीज्यूलामा उपचार भइरहेको प्रवक्ता श्रेष्ठले बताए।

घाइतेहरूको थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला वा सुर्खेत लैजान हेलिकोप्टर माग गरिए पनि खराब मौसमका कारण समस्या भएको छ।

मृत्यु भएका हमाल आफ्नो घरमा पहिरो जाने डरले परिवारसहित शाहीको घरमा सुत्न गएको बेला आज विहान ४ बजे पहिरो खसेको प्रहरीले जनाएको छ।

पहिरोको जोखिममा रहेका बारेकोटडाँडाका थप आठ घरहरू पहिरोको जोखिम देखिएपछि नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ।

यस्तै, डोल्पामा हिमपातमा परी एक जना भरियाको मृत्यु भएको छ। मृत्यु हुनेमा ठुलो भेरी नगरपालिका–९ जुँफालका कर्णबहादुर डाँगी रहेको छन्।

४६ वर्षीया डाँगी असोज १० गते २ जना विदेशी नागरिकसहित ५ जना नेपाली गरी ७ जनाको टोलीसँग कागकोट हुँदै तिन्जे पुगेका थिए।

फर्कने क्रममा शुक्रबार बेलुकी डोल्पो बुद्ध गाउँपालिका ३ स्थित छोईला लेकमा उनको मृत्यू भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

असोज २२, २०७९ शनिबार १५:२७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।