घनश्याम भुसालले छाडे एमाले, पार्टी केपी ओलीको दम्भ र स्वेच्छाचारिकताको कैदी भएको टिप्पणी

बुटवल : एमालेका नेता घनश्याम भुसालले एमाले परित्याग गर्ने घोषणा गरेका छन्।
नेता भुसालले शनिबार विज्ञप्ति जारी गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग रहेर आन्दोलन र आफैँप्रति पनि इमान्दार रहन नसकिने भएपछि पार्टीमा नरहने निष्कर्षमा पुगेको जनाएका छन्।
भुसालले पार्टी केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको टिप्पणी गरेका छन्।
उनले भनेका छन्, ‘आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरूमाथि योजनावद्ध आक्रमण बढ्दै गयो। र, अहिले यो पार्टी कमरेड केपी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ।’
भुसालले एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै आफू पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको जनाएका छ्न्।
उनले अगाडि भने, ‘तर, म स्वयंले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु।’
असोज २२, २०७९ शनिबार १४:३१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।