उम्मेदवार छान्न दलमा रस्साकस्सी, एमालेमा ओली निकट हाबी

काठमाडौं : उम्मेदवारी दर्ताको मिति नजिकिएसँगै प्रमुख दलहरू उम्मेदवार टुङ्ग्याउन बैठकमा सक्रिय छन्। सत्तापक्ष र प्रमुख प्रतिपक्ष उम्मेदवार शुचि टुङ्ग्याउन लागेका छन्।
सत्तारुढ गठबन्धनमा आबद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादीबिच सिट बाँडफाँटसँगै उम्मेदवारहरूको पनि टुङ्गो लागेको छ।
कांग्रेसले प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्रमा उम्मेदवारको टुङ्गो लगाएको छ । कांग्रेस संसदीय बोर्डको बैठकले उम्मेदवार टुङ्ग्याएको बताइएको हो।
स्रोतका अनुसार बागमती प्रदेश अन्तर्गत तीर्थबहादुर लामा काभ्रे १, उदयशमशेर राणा ललितपुर १, दुर्लभ थापा भक्तपुर २, प्रकाशमान सिंह काठमाडौं १, गगन थापा काठमाडौं ४, राजेन्द्र कुमार केसी काठमाडौं १० बाट उम्मेदवार बन्ने भएका छन्।
विजयकुमार गच्छदार सुनसरी ३,ज्ञानेन्द्रबहादुर कार्की सुनसरी ४,डा नारायण खड्का उदयपुर–१, डा शेखर कोइराला मोरङ ६ बाट उम्मेदवार बनेका छन्।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकुमार दाहाल प्रचण्ड गोरखा- २ मा उम्मेदवार बन्ने भएका छन्।
एमाले पनि उम्मेदवार छान्न व्यस्त
प्रमुख प्रतिपक्ष दल एमालेले पनि अधिकांश निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ।
केपी शर्मा ओली झापा ५ बाट उम्मेदवार बन्ने भएका छन्। सुरेन्द्र पाण्डे चितवन क्षेत्र नम्बर १, कृष्णभक्त पोखरेल चितवन- २ बाट उम्मेदवार बन्ने निश्चित भएको छ।
भक्तपुर १ मा नवराज गेलाल, २ मा महेश बस्नेत, प्युठानबाट सूर्य थापा र खोटाङबाट विशाल भट्टराइले टिकट पाएका छन्।
सिन्धुपाल्चोक १ मा सुरेश नेपाल र २ मा शेरबहादुर तामाङ उम्मेदवार बन्ने भएका छन्। अछाम १ मा झपट बोहोरा, कञ्चनपुर ३ मा निरुदेवी पाल, लेखराज भट्ट कैलाली ४, कैलाली ३ मा गौरीशङ्कर चौधरीले टिकट पाएका छन्।
समाजवादीले सबै सिट टुङ्ग्यायो
एकीकृत समाजवादीले आफ्नो भागमा परेको १९ सिटको उम्मेदवार टुङ्ग्याएको छ। इलाम १ मा झलनाथ खनाल, उदयपुर २ मा जगन्नाथ खतिवडा, रौतहट १ मा माधवकुमार नेपाल, बारा ४ मा कृष्णकुमार (किसान) श्रेष्ठ र काठमाडौं मा जीवनराम श्रेष्ठले टिकट पाउने निश्चित भएको छ।
यसैगरी, ललितपुर २ मा कृष्णलाल महर्जन, धादिङ १ मा राजेन्द्रप्रसाद पाण्डे, मकवानपुर २ मा विरोध खतिवडा, कास्की २ मा श्रीनाथ बराल, गुल्मी २ मा रामकुमारी झाँक्री, पाल्पा २ - सोमप्रसाद पाण्डे, रुपन्देही २ मा राजु गुरुङ, दाङ १ मा मेटमणि चौधरी उम्मेदवार बन्ने भएका छन्।
सल्यानमा प्रकाश बुढाथोकी (ज्वाला), डोल्पामा धनबहादुर बुढा मगर, दैलेख १ मा अम्बरबहादुर थापा,अछाम १ मा शेरबहादुर कुँवर, बझाङमा भानुभक्त जोशी र डोटीमा प्रेमबहादुर आलेले टिकट पाएका छन्।
असोज २२, २०७९ शनिबार १२:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।